नेपालमा एयर ब्याडमिन्टनको सुरुवात

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १२, बुधबार १७:२५

काठमाडौं । नेपाल ब्याडमिन्टन संघले युरोपमा लोकप्रिय रहेको विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल ‘एयर ब्याडमिन्टन’लाई नेपालमा पनि सुरुवात गर्ने उद्देश्यले एक दिने प्रदर्शन खेलको आयोजना गर्यो ।

दक्षिण एसियामानै पहिलो पटक जस्तो सुकै खुला मैदानमा रमाइलो खेलको रुपमा खेल्न सकिने यो खेल ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको ब्याडमिन्टन मैदानमा आयोजना गरिएको थियो ।

‘एयर ब्याडमिन्टन’ द न्यू ब्याडमिन्टन गेम २०२४ नामाकरण गरिएको प्रदर्शन खेलमा पुरुषतर्फ १ सय ८ र महिलातर्फ ३४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पुरुष र महिला युगलतर्फ खेलाइएको खेलमा पुरुष युगलतर्फ लगनखेलका विलन मलान र उज्ज्वल दाहालको जोडी प्रथम भए । यस्तै दोस्रो स्थानमा ललितपुरका मनिष बज्राचार्य र राकेश शाक्यको जोडी, तेस्रो स्थानमा आयुष प्रजापती (भक्तपुर) र एलिस थापा (चितवन) तथा अजय महर्जन र साजन महर्जन (थसी)को जोडी रहे ।

यसैगरी, महिलातर्फ नुमा लिम्बू (नखिपोट) र नविना (एपिएफ) को जोडीले शर्मिला केसी र पार्वती राई (पिएफसी)को जोडीलाई फाइनलमा पराजित गर्दै प्रथम स्थान हात पारे । यस्तै पिएफसीका मैया भट्टराई र सीता कार्कीको जोडी तथा भक्तपुरका लिना सिपाई र शुभेक्षा था श्रेष्ठको जोडी संयुक्त तेस्रो भए ।

नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाही र निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठले संयुक्त उद्घाटन गरेको प्रदर्शन खेलको विजेता खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, पूर्व प्रमुख प्रशिक्षक रजनी मैया जोशी, सहायक मुख्य प्रशिक्षक किरण थापा, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्रकुमार थिङ्गलगायतले मेडल तथा प्रमाण पत्र वितरण गरे ।

विश्व ब्याडमिन्टन महासंघले खुला मैदानमा सबै समूहका लागि उपयुक्त हुने नयाँ प्रकारको ब्याडमिन्टनलाई जन समक्ष परिचयात्मक रुपमा प्रस्तुत गरेको छ । एयर ब्याडमिन्टन द न्यू ओपन ब्याडमिन्टन नामाकरण गरिएको ब्याडमिन्टन परम्परागत ब्याडमिन्टन खेलभन्दा केही फरक रहेको छ ।

यसमा एकल, युगल र तीन जनाको समूहमा खेलाडीहरु सम्मिलित भएर प्रतिस्पर्धा गर्न सकिने छ । यसको मैदान र सटलकक परम्परागत ब्याडमिन्टन खेलको भन्दा फरक रहेको छ । कोर्टको मापदण्ड १६ मिटर लम्बाइ र ६ मिटर (एकलमा ५ मिटर) चौडाइ रहेको हुन्छ । नेटबाट २ मिटरको स्थानलाई डेड जोन मानिन्छ ।

उक्त स्थानमा सटलकक झरेमा आउट र खेलाडीले उक्त स्थानको लाइन क्रस गरेमा फल मानिने छ । यस्तै डेड जोनबाट ३ मिटर पर सर्भिस लाइन रहने र ३ मिटरको सर्भिस जोनबाट सर्भिस गर्नुपर्ने हुन्छ ।

यस्तै विपक्षीमा जुनसुकै खेलाडीले रिसिभ गर्नु पाउँछ । खुला मैदानमा खेलाइने भएकोले हावाको चापलाई मध्यजर गर्दै भिन्न प्रकारको सटलकक बनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.