
विराटनगर । काठमाडौंमा भदौ १६ गतेदेखि हुने एन्फा महिला लिगमा भाग लिन जाने कोशी प्रदेशका खेलाडीलाई आज बिदाइ गरिएको छ ।
बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा खेलाडी बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिगको सुपर लिगमा प्रथम भए खेलाडीसहित पदाधिकारीलाई जनही एक लाख रुपैयाँ प्रदान गर्ने बताए । उनले भने, ‘हाम्रो प्रदेश अन्य प्रदेशभन्दा अब्बल छ । मलाई विश्वास छ हाम्रो टोली प्रथम हुनेछ । हामी कहाँ भएका पाथीभरा, हलेसी, बराह क्षेत्रलगायतका देवीदेउताको आशीर्वाद छ । त्यसैले पनि हामी लिगको सुपर लिगमा प्रथम हुने गरी खेलौं जित निश्चित छ ।’
राजनैतिक अस्थिरताले गर्दा भने जस्तो तरिकाले काम गर्न सकिरहेका छैनौं । चाँडो चाँडो सरकार परिवर्तन हुने र एउटा सरकारले ल्याएको खेल नीति र योजना अर्को नयाँ सरकारले नमान्ने गर्दा समस्याले हुँदै आएको छ । प्रदेशको खेलकुद विकास बोर्डलाई अझ बलियो बनाउने काम भइरहेको मुख्यमन्त्री कार्कीले बताए ।

सोअवसरमा प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेलाडीहरुलाई जितको शुभकामना दिए ।
राउण्ड रोबिनको टप फाइभमा उक्लिने पहिलो लक्ष्यसहित मैदानमा उत्रिने कोशी प्रदेश महिला फुटबल टोलीकी कप्तान सिमरन राईले बताइन् । उनले लिगमा पहिलो लक्ष्य टप फाइभभित्र पर्ने र त्यसपछि डबल राउण्ड रोबिनमा उत्कृष्ठ प्रदर्शन गर्ने रहेको छ ।
हामीसँग चुनौती छँदैछ । नियमित कप्तानसँगै अनुभवी अन्य दुई खेलाडी सुरुआती खेलमा नहुने बताउँदै, कप्तान राईले भनिन्, ‘उच्च मनोबलसहित मैदानमा उत्र्ने छौं । साथीहरुको अभाव मैदानमा भए पनि अहिलेको सन्तुलित, एकतासहित मैदानमा प्रतिस्पर्धा गर्ने छौं । विपक्षीको दबाबलाई सामना गर्दै जित निकाल्नेमा हामी विश्वस्त छौ ।’
लिगको तयारीका लागि करिब १० दिन धरानस्थित एन्फा टेक्निकल मैदानमा बन्द प्रशिक्षणले पनि सहज बनाएको छ । लिगका अन्य टोली पनि उत्तिकै बलिया छन् । सबैसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने छ । छोटो अवधिको बन्द प्रशिक्षणबाट हामीले मैदानमा शतप्रतिशत नतिजा दिने छौं, कप्तान राईले भनिन् ।
कोशीको नियमित कप्तान खुश्मा राई, अग्रपंक्तिकी जेनिफर राई र गोलरक्षक सुशीला चौधरी भुटानमा खेल्दै छन् । प्रदेशका टिम म्यानेजर केशव कार्कीका अनुसार भुटानमा रहेका अनुभवी खेलाडी लिगको तेस्रो खेलबाट टोलीमा सामेल हुन्छन् । टोेलीमा भारतको इष्ट बंगालकी भुली सरकार, तमलिका सरकार र सुनिता सरकार राख्ने भएको उनले बताए ।
भदौ १६ गते दशरथ रंगशालामा हुने पहिलो खेलमा कोशीले स्याङजाको वालिङ नगरपालिकासँग खेल्ने छ । लिगमा बलियो टोली सशस्त्र प्रहरी बलको एपिएफसी, त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा क्लब र बागमती युथ क्लब छन् ।
सिंगल राउण्ड रोबिनका आधार हुने लिगमा ४५ खेल हुनेछन् । पहिलो चरणपछि शीर्षस्थानमा उक्लिने पाँच टोलीले डबल राउण्ड रोबिनका आधारमा सुपर लिग खेल्ने छन् ।
कोशी प्रदेश टोलीमा झापा, सुनसरी, मोरङ, उदयपुर, भोजपुर, ओखलढुंगा, इलाम, पाँचथरबाट खेलाडी समेटिएका छन् ।
यसअघि, वैशाखमा सुर्खेतमा सम्पन्न लिग छनौटमा अपराजित रहँदै कोशीको टोली प्रथम भएको थियो ।























