
झापा । गुणस्तर तथा नापतौल कार्यालय झापाले बिर्तामोडका व्यवसायीको सहजताका लागि ढक तराजुको नाप जाँच तथा नवीकरण बिर्तामोडमा सुुरु गरिएको छ ।
शनिवारबाट तीन दिनसम्मका लागि बिर्तामोड उद्याोग वाणिज्य संघले संघको कार्यालयमा ढक तराजुको नाप जाँच तथा नवीकरण कार्य सुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिलकुमार यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच ढक तराजुको नाप जाँच सुरु गरिएको हो ।
संघका अध्यक्ष न्यौपानेले भने, ‘उपभोक्ताहरु नठगिउन् भनेर समय समयमा ढक तराजुको नाप जाँच गर्नुपर्छ । विशेष गरेर चार्ड पर्वको मौका छोपेर व्यवसायीहरुले नाप जाँचमा ठग्ने गरेको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् । यस्ता गुनासो नआओस् भनेर कार्यक्रम गरिएको हो । यहाँका सबै व्यवसायीले आआफ्ना ढक तराजु जाँच गराउनुहोस् ।’
ढक तराजुको नाप जाँच तथा नवीकरण गराउन गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरसम्म जानुपर्ने बाध्यतलाई सहजीकरण गरेर यहीँ गर्ने वातावरण मिलाएको अध्यक्ष न्यौपानेले बताए ।
सो अवसरमा बोल्दै गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख यादवले विशेषगरी भारतबाट ल्याइने ढक तराजुमा प्रमाणीकरण गरिएको चिन्ह नहुने र त्यस्ता ढक तराजुबाट उपभोक्ता ठगिने गरेको हुँदा सचेत रहन आग्रह गरे । उनले त्यस्ता ढक तराजु अनुगमनका क्रममा भेटिए २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताए ।
प्रत्येक नापतौल यन्त्रको अनुमति लिइनुपर्छ । अनुमति नलिएका त्यस्ता यन्त्र अनुगमनका क्रममा भेटिए एक हजुरदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने यादवले जानकारी दिए ।
गुणस्तर तथा नापतौल कार्यालय झापाको कार्य क्षेत्र साविक मेची अञ्चल रहेको र गत वर्ष ५ सय ५० वटा एकल तथा सामूहिक फर्मको अनुगमन गरिएको यादवको भनाइ छ । त्यसक्रममा अधिकांश फर्मले नापतौल उपकरणको नवीकरण नगरिएको पाइएको बताए ।
कार्यक्रममा बोल्दै कृषि उपज बजार बिर्तामोडका अध्यक्ष निरज ओलीले बिर्तामोड उद्योग वाणिज्य संघले नापतौल यन्त्रको नवीकरण तथा नाप जाँच गराएउने सिबिर सञ्चालन गरेकामा खुसी व्यक्त गर्दै कृषि थोक बजारमा पनि सिबिर सञ्चालन गर्न आग्रह गरे ।


















