सुदेश र स्वरिनले जिते मिनी टुर्नामेन्ट

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १६, आइतबार १५:३८

काठमाडौं । नेपाल सटल टाइम मिनी टुर्नामेन्ट २०२४ मा यु–१५ पुरुषतर्फ त्रिभूवन आर्मी क्लबका सुदेश राजकोटी र महिलातर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले स्वर्ण पदक प्राप्त गरे ।

नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टन खेलप्रति आकर्षण गर्दै विश्वव्यापी रुपमा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । एक दिने प्रतियोगितामा पुरुषतर्फ भोजपुरका सदीप राई दोस्रो र आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्की संयुक्त तेस्रो हुँदै रजत तथा कास्य पदक प्राप्त गरे ।

महिलातर्फ सिन्धुपाल्चोककी अस्ना श्रेष्ठले रजत प्राप्त गर्दा आर्मीकी युनिशा गुरुङ र केबिसीकी प्रेनेशा श्रेष्ठले संयुक्त कास्य प्राप्त गरे ।

भक्तपुर सिपाडोलस्थित भादगाउँ स्पोर्टस् क्लबको कभर्ड हलमा भएको प्रतियोगिताको यु–१२ ब्वाइजतर्फ नेपाल पुलिस स्कुलका प्रनिश कार्कीले आर्मीका दीप थिंङलाई पराजित गर्दै स्वर्ण हात पारे ।

नेपाल पुलिस स्कुलका सिद्धान्त श्रेष्ठ र जेनिश तामाङ संयुक्त तेस्रो हुँदै कास्य जित्न सफल भए । गल्र्सतर्फ आर्मीकी अजरेन्का शेरचनले आश्रुति कार्कीलाई पराजित गर्दै स्वर्ण जितिन् । केबिसीकी रेन्शा श्रेष्ठ र काभ्रे ब्याडमिन्टनकी दिवा श्रेष्ठ संयुक्त तेस्रो हुँदै कास्य पाए ।

नेपाल ब्याडमिन्टन संघका पूर्वअध्यक्ष प्रकाशबहादुर शाहीले उद्घाटन गरेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपालका लागि योनेक्सका आधिकारीक विक्रेता योनेक्स सनराइजका प्रोपाइटर राजु बास्तोला, संघका पदाधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ ५५ र महिलातर्फ २५ खेलाडीहरुले सहभागिता जनाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.