
विराटनगर । नेकपा माओवादी केन्द्रको कोशी प्रदेशको पुन:नामाङ्कन गर्न माग गरेको छ । माओवादी केन्द्रका सांसद दुर्गा चापागाईँले प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशको नाम पहिचानका आधारमा गर्न माग गरेका हुन् ।
कांग्रेसका १४ जिल्लाका सभापतिहरूले प्रदेशको नाम जनभावना अनुसार संशोधन गर्नुपर्ने माग गरेको स्मरण गर्दै उनले प्रदेशको नाम बहुपहिचानका आधारमा राख्न माग गरेका हुन् ।
‘प्रदेश नामकरणले उत्पन्न गरेको समस्या हल गर्ने उपयुक्त समय यहीँ हो, किनकी दुई तिहाइ बहुमतको सरकार तपाईँहरूसँग छ, प्रमुख प्रतिपक्षी दलसहित दल निसर्त साथ दिन तयार छन्’, उनले भने, ‘ त्यसैले बहुपहिचानका आधारमा प्रदेशको पुन नामकरणको निम्ति अघि बढ्न ध्यानाकर्षण गर्छु ।’
२०७९ फागुनमा प्रदेशकाे नाम काेशी राख्दा माओवादी केन्द्रले पनि मतदान गरेकाे थियाे । तर काेशीकाे विराेध भएपछि माओवादी केन्द्र पुन: पहिचानकाे पक्षमा उभिएकाे थियाे ।
अविश्वसनीय मुख्यमन्त्री
चापागाईँले कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अविश्वसनीय भनेको आरोप लगाएका छन् । मुख्यमन्त्री कार्की नन भिजनरी र अविश्वसनीय भएको आरोप आरोप लगाए ।
‘यो डेढ वर्षमा हाम्रो प्रदेशले ह्याट्रिक वाला तर नन भिजिनरी र अविश्वसनीय छविका मुख्यमन्त्री ब्यहोरिरहेको छ’, चापागाईंले भने,‘‘ ह्याट्रिक वाला मुख्यमन्त्री, दुई तिहाइ बहुमतको सरकार आशा विश्वास र भरोसा छैन तर शङ्काको सुविधा दिऔँ अब प्रदेशले स्थायित्व पाँउछ ।’
माओवादी सांसदले मुख्यमन्त्रीलाई अविश्वसनीय भनेपछि एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले त्यो शब्द रेकर्डबाट हटाउन माग गरे । लगत्तै आसनबाट उठेर बोलेका दुर्गा चापागाईँले साङ्केतिक हिसाबले कुरा राखेको बताए ।

























