विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ का २४ वर्षीय रोनाल मिश्र रोजगारीको खोजीमा थिए ।
गाउँमा रुसी सेनामा काम गर्न पाउने र तलब पनि राम्रो हुनेभन्ने सुनेपछि साथीसँग २०८० असोज २७ गतेमा घरबाट हिँडे । रसिया पुगेर काम सुरु गरेपछि उनी परिवारका सदस्यसँग कुरा गर्थे । तर, पुगेको २ महिनापछि सम्पर्कमा छैनन् ।
युद्ध चलिरहेको देशको सेनामा काम गर्न गएको छोरो बेपत्ता भएको घटना बुवाले सहन सकेनन् । गत साउन ९ गते बुवा राजकुमारले आत्महत्याको बाटो रोजे । अहिले घरमा रोनालका भाइ र आमा मात्रै छन् ।
‘दाजुको खबर छैन, बुबा बित्नुभयो,’ रोनालका भाइ रिजनले भने, ‘हाम्रो मान्छेका बारेमा कसले सोधीखोजी गरिदिन्छ ?’ रिजन कक्षा ९ मा पढ्छन् । ‘घरमा कुनै व्यापार व्यवसाय छैन । आम्दानी पनि छैन,’ रिजनले भने, ‘मैले दाजु खोज्न कहाँ जानु ? कसलाई भन्नु ?’
चैतमा परिवारलाई खबर आयो, ‘युद्धमा प्रीतम मारियो’ । थाहा पाएपछि आमा अर्धचेत भइन् । अहिले पनि छोराको पिरमा आँसु नझरेको पल छैन ।
बेलबारी– ११ लक्ष्मीमार्गकै हिरामाया राईको आँखा नओभाएको १ वर्ष भयो । उनका श्रीमान बितेको १ दशक बढी भयो । बुढेसकालको एकमात्र साहरा छोरा प्रीतम राई थिए ।
गत असोजमा दलालले छोरालाई राम्रो आम्दानी हुने भन्दै रसिया पठाइदिए । ५ महिनासम्म उनी परिवारको सम्पर्कमा थिए । आमासँग कुरा गर्थे । तर, गत फागुनबाट उनी सम्पर्कबिहीन भए ।
चैतमा परिवारलाई खबर आयो, ‘युद्धमा प्रीतम मारियो’ । यो खबर आफन्तले सुरुमा आमालाई सुनाएनन् । तर, धेरै दिन लुकाउन पनि सकेनन् । थाहा पाएपछि आमा अर्धचेत भइन् । अहिले पनि छोराको पिरमा आँसु नझरेको पल छैन ।
प्रीतम मारिएको खबर आएपछि आफन्तले काजकिरिया गरिसके । बुढेसकालको एक मात्र साहरा छोरो विदेशको युद्धमा मारिएपछि आमा भावविह्वल छिन् । छोराको कुरा आउँदा बोल्न सक्दिनन्, भक्कानो छाडेर रुन थाल्छिन् ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सोधीखोजी गर्दा उनले आँसु मात्रै झारीरहिन् । जवाफ दिन सकिनन् । ‘कसरी–कसरी रसिया पुगेको भतिजो चैतमा मरेको खबर आयो । त्यसपछि काजकिरिया गर्याैं,’ काका धर्मराज राईले भने, ‘एक्लो छोरो बित्यो । परिवारमा ठूलो बज्रापात पर्यो ।’
‘कसरी ‘प्लानिङ’ गरेर पठाइन्छन् नेपालीलाई युक्रेन ? ठूलै मान्छेको हात छ भन्ने सुनिन्छ,’ उनले भने, ‘भूटानी शरणार्थीमा ठूला मान्छेको हात थियो । यहाँ पनि हुनसक्छ । यसको खोजी किन नभएको होला ?’ अवैध तरिकाले जाने विषयमा राज्यले चासो नदिएको उनले बताए ।
उदयपुरको कटारी नगरपालिका–२ का ओमबहादुर आलेमगर रुसी सेनामा काम गर्ने भन्दै रसियातर्फ गएको कात्तिकमा १ वर्ष पूरा हुन्छ । घरमा स–साना ४ जना छोराछोरी छन् । गएको केही महिना परिवारको सम्पर्कमा थिए ।
नेपाली सेनाको जागिरबाट अवकास पाएपछि ओमबहादुर राम्रो कमाइ हुने भन्दै रसिया उडेका थिए । ३ पटक उनले परिवारमा खर्च पनि पठाए । घरमा ऋण तिर्नका लागि पैसा पठाउँछु भन्दै श्रीमतीसँग कुरा गरेका ओमबहादुर ४ महिनाअघि एक्कासि बेपत्ता भए ।
त्यसपछि मृत्युको खबर परिवारमा आयो । आफन्तको सल्लाहमा श्रीमती बिनुले श्रीमानको काजकिरिया गरिन् । ४ छोरा–छोरीलाई हुर्काउने जिम्मा उनी एक्लैमाथि आइलागेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका– १० का विनोद राई गतवर्ष दसैंको टीकाको दिन घरबाट रसियाका लागि हिँडे । नेपाली सेनामा १४ वर्ष काम गरेका उनी कतारबाट फर्किएपछि साथीहरुले भनेपछि उनी रसिया गएका हुन् ।
करिब ३ महिना उनी परिवारको सम्पर्कमा थिए । त्यसपछि बेपत्ता छन् । साथीले बेपत्ता भएको खबर परिवारलाई पठाएका छन् । ‘पुस २७ गतेदेखि उहाँसँग सम्पर्क भएको छैन,’ श्रीमती कमलश्वरी राईले भनिन्, ‘मेरो श्रीमानलाई ल्याइदिनुपर्याे ।’
कति नेपाली गए रुस ?
रुस–युक्रेन युद्ध सुरु भएपछि नेपालबाट कति नेपाली नागरिक रुसी सेनामा गएभन्ने तथ्यांक राज्यसँग छैन । चोरबाटोबाट गएकाहरुलाई राज्यले फर्काउन पहल पनि गरेको छैन ।
नेपालबाट रसियन सेनामा काम गर्नका लागि गएका मध्ये २ सय ७८ जना बेपत्ता छन् ।
रुसी सेनामा काम गरेर नेपाल फर्किएका सुनसरीको इटहरीका हेमराज बुढाथोकीका अनुसार १० हजारभन्दा बढी नेपाली रुसी सेनामा छन् । रुसमा देखेको नेपालीको संख्याका आधारमा उनले यो अनुमान गरेका हुन् ।
उनी ४८ जना नेपालीसहित भिजिट भिसामा रसिया गएका थिए । युद्धमा गोली लागेर हेमराज घाइते भए । कार्यालय सहयोगीको रुपमा काम गर्न भन्दै रसियन सेनामा लगेका थिए । उनी सशस्त्र प्रहरीको वरिष्ठ हवल्दारको जागिर छाडेर रसिया गएका थिए ।
‘त्यहाँ कसैलाई भेट्न दिदैनन् । बन्धकजस्तै बनाएर राख्छन्,’ उनले भने, ‘अघिल्लो वर्षको भदौ, असोज र कात्तिकमा दैनिक ५० भन्दा बढी नेपालबाटै गएका छन् । खाडी मुलुकबाट पनि सिधै रसिया गएका छन् ।’ उनका अनुसार हालसम्म १० हजार बढी गएका छन् । ‘लडाइ लड्नेहरुले तलब पाएका छैनन् । ‘इन्स्योरेन्स’ पनि पाउँदैनन् । कागजात सबै जफत गरिदिन्छ,’ उनले भने ।
नेपालबाट रसियन सेनामा काम गर्नका लागि गएका मध्ये २ सय ७८ जना बेपत्ता भएको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’की अभियन्ता कृतु भण्डारी बताउँछिन् । ‘यो संख्या राज्यको होइन । हामीसँग जोडिएका परिवारहरुका अनुसार २ सय ७८ जना बेपत्ता हुनुहुन्छ । ६१ परिवारले त काजकिरिया नै गरिसक्नु भयो । रसिया पठाउनका लागि १ सय ७७ जना दलालहरु छन्,’ उनले भनिन् ।
उनका अनुसार पछिल्लो समय रसियामा मरेकाको परिवारका सदस्यहरुसँग पनि दलालले पैसा माग्न थालेका छन् । ‘बेपत्तालाई फर्काइदिन्छु, मृतकको क्षतिपूर्ति दिलाइदिन्छु भन्दै दलालहरुले पैसा उठाएका छन्,’ कृतुले भनिन, ‘सरकारले यो विषयलाई गम्भीर रुपमा लिएको छैन ।’ उनले अहिलेसम्म ३ हजार बढी नेपाली रुसको सेनामा रहेको दाबी गरिन् ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले रुसी सेनामा बेपत्ता भएकाहरुको खोजीका लागि पहल गर्ने बताए । बेपत्ता परिवारका सदस्यहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत पहल गर्ने वातावरण मिलाउने उनले बताए ।
बेपत्ता पारिएका परिवारका सदस्यहरुलाई खोजीका लागि पहल गर्न काठमाडौं धाउनुपर्ने समस्या रहेको बताएपछि मन्त्री अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट पहल गर्ने आश्वासन दिएका हुन् ।