
काठमाडौं । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक प्राप्त गर्न सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई आज भव्य स्वागत गरिएको छ ।
उनलाई बुधबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसहित उच्च पदाधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमी र अन्य विभिन्न संघसंस्थाका व्यक्तिले उनलाई भव्य स्वागत गरे ।
विमान स्थलमा पलेशाको स्वागतपछि उनलाई महानगर परिक्रमा गराइएको हो । पलेशा गोवर्धनले पेरिस पालालिम्पिकमा कांस्य पदक जित्न सफल भएकी हुन् । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जित्दै इतिहास रचेकी हुन् ।
सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आएको भए पनि पदकविहीन थियो । यसैक्रममा पेरिस पारा ओलम्पिकमा पलेशाको उपलब्धीले नेपालीलाई गौरवान्वित बनाएकी छिन ।
एसियाली खेलकुद प्रतियोगितामा प्राप्त भएका रजत पदक नै नेपाली खेलकुद इतिहासको उच्च सफलता थिए । अब पेरिस पारा ओलम्पिकमा पलेशाले प्राप्त गरेको सफलताले नयाँ इतिहास बनाएको छ ।
पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन् । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भएकी थिइन् । दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा नेपालका लागि कीर्तिमानी पदक जितेकी हुन् ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरेको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्ने छ ।
नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कांस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । यसरी पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बन्ने छिन् ।























