
काठमाडौं । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ पुरस्कार दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता पलेशालाई सरकारले दिने पुरस्कार राशिमा कर कट्टा नगरी पूरै दिने बताएका हुन् । पलेशाले सरकारबाट पाउने पुरस्कार राशि ६५ लाख रुपैयाँमा कुनै कर कट्टा नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए।
नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको बताउँदै, प्रधानमन्त्री ओलीले भने, ‘यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौं । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी बनाउँदै नेपालको इज्जत बढाएको छ । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ । यो कीर्तिमान इतिहासमा लेखिने छ । हामीले पुुराना कीतिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुझाएर बस्नु हुँदैन ।’
सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरे ।























