काठमाडौं । पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोर्वधनलाई पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बधाई दिएका छन् ।
खुमल्टारस्थित आफ्नै निवासमा भेट गरी पूर्व प्रधानमन्त्री दाहालले पलेशासहितको पारा तेक्वान्दो टोलीलाई बधाई दिएका हुन् । सो अवसरमा पूर्व प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको बताउँदै पलेशाको सफलताले विश्वभर रहेका सम्पूर्ण नेपालीले गौरव गर्ने अवसर प्राप्त गरेको बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पेरिस पारालिम्पिकका लागि राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा व्यवस्था भए अनुसारको नगद पुरस्कारका लागि सिफारिस गरिसकेको जानकारी गराए ।
स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामालाई पनि राखेपमा प्रशिक्षकमा नियुक्तिका लागि समेत सिफारिस गरिसकेको पूर्व प्रधानमन्त्री दाहाललाई अवगत गराए ।
सो अवसरमा पलेशाका बुवा प्रदीप, प्रशिक्षक लामा, पारालिम्पिकमा तेक्वान्दो टोलीका व्यवस्थापक एवं राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।