
विराटनगर । कोशी प्रदेशमा प्रदेशको नामांकन हुँदा पक्षमा मतदान गरेको नेकपा (माओवादी केन्द्र)ले पार्टीको ब्यानरमा भने प्रदेश नम्बर १ नै लेखेको छ ।
उदयपुरमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको परामर्श बैठकको ब्यानरमा प्रदेश १ नै लेखेको हो । नामकरणको विषयमा माओवादीले दोहोरो चरित्र देखाएको हो ।
प्रदेश नम्बर १ को प्रदेशसभाको दोस्रो बैठकले २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम दुईतिहाइ बढी बहुमतले कोशी राखेको थियो ।
कोशी नाम राख्दा माओवादीले पक्षमा मतदान गरेको थियो । प्रदेशसभामा भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो । मतदानमा ८६ जना सांसद सहभागी थिए ।
पक्षमा मतदान गरेर माओवादीले प्रदेश नम्बर १ लेख्नु सार्वभौम संसदको अपमान भएको नेकपा (एमाले) प्रदेश कमिटी सदस्य गीतादेवी रेग्मीले बताइन् । ‘सत्तामा हुँदा मान्ने, प्रतिपक्षमा हुँदा नमान्ने राजनीतिकरण खेदजनक र निन्दनीय छ,’ उनले भनिन् , ‘यस्ता हर्कत तत्काल बन्द गरिनु पर्दछ ।’
माओवादी केन्द्र प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सो)ले केन्द्रको नीति प्रदेशको नाम पुनः नामाकरण गर्ने भन्ने भएकाले प्रदेशको नाममा १ नम्बर लेखिएको बताए ।
पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि साउन २२ गते विराटनगरमा आयोजित प्रदेश समितिको सातौं बैठकमा उपस्थिति हुँदा पनि प्रदेश नम्बर १ लेखेर नै ब्यानर प्रयोग गरिएको थियो । त्यही ब्यानरमा आयोजित बैठकलाई प्रचण्डले सम्बोधन गरेका थिए ।

























