
काठमाडौं । पेरिस पारालिम्पिकअन्तर्गत तेक्वान्दोमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धनलाई नेपाली काँग्रेसले सम्मान गरेको छ । पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो टोलीलाई सम्मान गरिएको थियो ।
पलेशालाई नगद ५ लाखसहित प्रशंसा–पत्र प्रदान गरियो । प्रशिक्षक कविराज नेगी लामा १ लाख ५० हजार तथा पेरिस पारालिम्पकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार नगदसहित प्रशंसा–पत्रबाट सम्मानित भए ।
सो अवसरमा व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा–पत्रबाट सम्मान गरिएको थियो ।
टोलीलाई सानेपास्थित काँग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली छोरी पलेशाले पारालिम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको धारणा व्यक्त गर्दै पलेशाको सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।
उनले पलेशालाई बधाई दिँदै आगामी दिनमा अझ बढी सफलताका लागि शुभकामना दिए । उनले खेलकुदको विकासका लागि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउँदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे ।
काँग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले पारा खेलकुदमार्फत पलेशाले विश्वव्यापी रुपमा नेपाललाई चिनाएको बताउँदै सानो देशले पनि बलिया राष्ट्रलाई हराउन सक्ने क्षेत्र महत्वपूर्ण क्षेत्र खेलकुद भएको बताए ।
उनले खेलकुद राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउँदै, अहिलेको बजेट खेलकुदका लागि अपुग भएको बताए ।























