विराटनगर । चोरीको व्याख्या मात्रा अनुसार अलग–अलग ठाउँमा फरक पर्ला । तर, यो अहिले समाजको ‘महाअपराध’ बनेको छ । यसले कसैलाई महलदेखि सडकसम्म पुर्याएका घटना पनि छन् । त्यसैले त ताला– चाबी बन्यो । अनि, उखान पनि बन्यो, ‘आफ्नो थैलो बलियो बाँध्नु, अरुलाई चोर नलगाउनु ।’
चोरीको घटनाले समाज आतंकित र भयभीत भइरहेको हुन्छ । कतिपय ठाउँमा सर्वसाधारणले रातदिन गस्ती गर्छन्, जागा नै बस्छन् । कसैको हत्या यही अपराधले भएको छ । र, सुरक्षा निकायलाई सबैभन्दा बढी टाउको दुखाउने विषय पनि बनेको छ । तल प्रस्तुत घटनाहरूले यस्तै देखाउँछ ।
घटना १ : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित संगीता पौडेलको घरमा २०८० साउन ३२ गते चोरी भयो । दराजमा राखेको सुनको तिलहरी, नौगेडी, औँठी, झुम्का, जुलीलगायतका गरगहना र नगद १ लाख २० हजार रूपैयाँ चोरियो । प्रहरीले घटनाको अनुसन्धान र यसमा संलग्नको खोजी गरिरहेको छ । तर, पक्राउ परेका छैनन् ।
घटना २ : मोरङको बेलबारी नगरपालिका–१ बाट सम्राट परियारको १ लाख मूल्य बराबरको आईफोन २०८० फागुन १६ गते हरायो । उक्त मोबाइल खोजतलासका लागि प्रहरीमा निवेदन दिए । तर, न भेटियो चोर, न त आईफोन नै ।
घटना ३ : सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का हेमबहादुर कार्कीको घरको दराजमा राखेको सुनको औँठी, घडी र २६ हजार रूपैयाँ गत साउन २६ गते राति चोरी भयो । घरमा कोही नभएको मौका छोपी कोठाको ढोका फुटाएर धनमाल लगिएको घटनामा संलग्नलाई प्रहरीले फेला पारेको छैन ।
घटना ४ : झापाको भद्रपुर नगरपालिका–७ की सविना दुलालको घरबाट यही बुधबार ३ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी भयो । मूलढोका फुटाउँदै घरभित्र छिरेर चोरले सुनचाँदीका गरगहना र ३० हजार नगद लिएर गएको प्रहरीले जनाएको छ ।
यी उदाहरण मात्रै हुन् । यस्ता घटनाको अनुसन्धानका जटिलता र संलग्नको पहिचान गर्न मुस्किल परिरहेको प्रहरी बताउँछ । तर, कतिपय घटनामा सफल अनुसन्धान गरेर चोरीमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी सफलसमेत भएको छ ।
घटना १ : पाँचथरको फिदिम नगरपालिका–२ की विष्णुकुमारी तामाङले २०८० चैत १२ गते दिउँसो घरको ढोका खुलै राखेर छोरालाई नुहाइदिन थालिन् । त्यतिबेला आएर हेर्दा कोठाभित्र भेटिएका सुरेन भनिने सुरेन्द्र योङयाले गरगहना र नगद चोरी गर्दै थिए । चुक्कुल बाहिरैबाट लगाएर होहल्ला गरिन् । स्थानीय पुगे । प्रहरीलाई पनि खबर भयो । प्रहरीले पक्राउ गर्दा चोरी गरेको १५ हजार रूपैयाँ योङयाको साथबाट भेटियो ।
दराज खोलेर हेर्दा सुनको टिल भेटिएन । योङयाबाट पनि फेला परेन । एक्स–रे गरेर हेर्दा उक्त टिल उनले निलेको पत्ता लाग्यो । पेटभित्र रहेको टिललाई दिसामार्फत बाहिर निकालियो । योङयाविरुद्ध प्रहरीले चोरी मुद्दा चलायो । अदालतले मागेको १ लाख ५० हजार रूपैयाँ धरौटी बुझाउन नसकेपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरियो । मुद्दा विचाराधीन छ ।
घटना २ : मोरङको बूढीगंगा गाउँपालिका–४ मा रहेको नबिल डिस्टिब्युटर्स प्रा.लिको गोदाममा २०७९ चैत २८ गते राति चोरी भयो । झ्यालको रड काटेर गोदामभित्र रहेका २१ वटा टिभी चोरी गरिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा कोषण ऋषिदेव र सन्दीपकुमार ऋषिदेवलाई पक्राउ गर्यो । उनीहरूले चोरेर विभिन्न ठाउँमा पुर्याइ टिभी बिक्री गरेको खुल्यो । प्रहरीले दुवै जनाविरुद्ध मुद्दा चलायो ।
घटना ३ : विराटनगर महानगरपालिका–३ फूलबारी रेस्टुरेन्टअगाडिबाट भदौ ११ गते दिउँसो को ३७ प १२६ नम्बरको मोटरसाइकल चोरी भयो । चोरीमा प्रयोग गर्ने सामग्रीसहित महेशकुमार मेहता वारदातस्थलबाटै पक्राउ परे ।
प्रहरीले २ दिनपछि अमन चौधरीलाई बूढीगंगा गाउँपालिका–५ बाट मोटरसाइकलसहित पक्राउ गर्यो । उनको शरीर खातलासी गर्दा साथबाट नाइट्राजेपाम १० ट्याब्लेट बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
प्रारम्भिक अनुसन्धानबाट चोरीमा संलग्नहरू लागुऔषधका प्रयोगकर्ता रहेको पत्ता लागेको छ । दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको एसपी कार्की बताउँछन् ।
प्रत्येक वर्ष बढ्दै
कोशी प्रदेशमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका छन् । प्रहरीको तथ्यांकले पनि बर्सेनि बढ्दै गएको देखाउँछ । १४ जिल्ला रहेको प्रदेशमा दैनिक धेरै घटना हुन्छन् । नियन्त्रण भने निक्कै चुनौतीपूर्ण बन्दै छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ६ सय ६२ वटा चोरी तथा डाँका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, एसएसपी भीमबहादुर दाहालले बताए । उनका अनुसार चोरीमा संलग्न ११ महिलासहित ८ सय ४५ जनालाई पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा मुद्दाको संख्या बढेर ७ सय ४५ पुग्यो । चोरीमा संलग्न ३० महिलासहित १ हजार ६२ जना पक्राउ परेको जानकारी दाहालले दिए ।
गत आर्थिक वर्ष २०८०/०८१ मा चोरी झन् बढेको देखिन्छ । चोरी सम्बन्धी ७ सय ५२ मुद्दा दर्ता भएका छन् । चोरीमा संलग्न १९ महिलासहित १ हजार ३८ जनालाई प्रहरीले पक्राउ गरेको एसएसपी दाहाल बताउँछन् ।
५ औं अपराध
कोशीमा आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न अपराधसँग सम्बन्धित ९ हजार ३ सय ८७ मद्दा प्रहरीले दर्ता गरेको छ । अपराधमा संलग्न ७ हजार १ सय ५८ जना पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालयले साउन ८ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरण अनुसार विभिन्न अपराधमध्ये चोरी तथा डाँका ५ औं नम्बरमा छ । सबैभन्दा धेरै सामाजिक अपराधसँग सम्बन्धित १ हजार ५ सय ७४ वटा मुद्दा दर्ता भएका छन् ।
दोस्रोमा आत्महत्याका १ हजार ५ सय ५४ वटा घटना भएका छन् । तेस्रोमा लागुऔषधका १ हजार ३९ र चौथोमा बैंकिङ कसुरका १ हजार ४ वटा मुद्दा दर्ता भएको एसएसपी दाहालले बताए ।
कसरी भयो ‘महाअपराध’ ?
उच्च प्रहरी अधिकारीको नजरमा चोरी समाजको ‘महाअपराध’ हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ भन्छन्, ‘हामी चोरीलाई सामान्य मान्छौं । तर, यो वास्तविक र ‘प्लानिङ–वे’मा हुने ठूलो अपराध हो ।’
जानीबुझी, सोचेर, सम्झिएर र अरुको कुभलो गर्ने तथा बिगार्ने एवं पूरापूर होस हवासमा गरिने योजनाबद्ध अपराध चोरी भएको उनको भनाइ छ । ‘यसलाई गम्भीर अपराधको शैलीमा राख्नुपर्छ । अन्य अपराधहरू कहिलेकाहीँ संयोगले र भवितव्य हुन्छन्,’ डीआईजी खापुङले भने, ‘परिस्थितिजन्य हुनसक्छन् । तर, योजनै बनाएर गरिने चोरी भवितव्य र परिस्थितिजन्य हुँदैन ।’
चोरी राज्य र समाजको ठूलो चुनौती एवं समस्याका रूपमा देखापरेको छ । सानातिना मात्रै हैन, ठुल्ठूला चोरी पनि भएका छन् ।
जस्तोसुकै अभाव र संकट भएपनि जोकोहीले गर्न नसक्ने उनको विश्लेषण छ । ‘बाँच्नका लागि मात्रै नभइ चोरहरूले अरुको बिगार गर्नलाई पनि चोर्छन् । कडा कारबाहीको व्यवस्था हुनुपर्छ,’ खापुङले भने, ‘चोरीलाई एउटा मनोरोगका रुपमा पनि लिइन्छ । ‘क्लिप्टोमेनिया’ (चोरी गरिरहन मन लाग्ने रोग) भएका कारणले पनि कतिपयले चोरी गर्छन् ।’ ‘क्लिप्टोमेनिया’को उपचार कसरी हुन्छभन्ने थाहा नभएको उनको भनाइ छ ।
चोरीलाई प्रहरीले गम्भीर रूपमा लिएको खापुङले बताए । ‘चोरी राज्य र समाजको ठूलो चुनौती एवं समस्याका रूपमा देखापरेको छ । सानातिना मात्रै हैन, ठुल्ठूला चोरी पनि भएका छन्,’ उनले भने, ‘पहिलापहिला मूर्ति चोरीसम्मका कुरा आउँथे । पुराना र महत्वपूर्ण पुरातात्विक सामानहरू चोर्थे ।’
उनका अनुसार चोरी न्यूनीकरण गर्न प्रहरीले नियमित गस्ती र पेट्रोलिङ गर्नेदेखि चोरी भइसकेपछि पक्राउ र अनुसन्धान गर्ने गर्छ । त्योबाहेक चोरीका सामानहरू किनबेच गर्ने स्थान र चोरी हुने सम्भावित ठाउँमा प्रहरीले निगरानी बढाउने गरेको खापुङको भनाइ छ ।
‘केही व्यावसायिक चोरहरू छन् । जुन ठाउँमा गएपनि चोर्ने शैली एउटै हुन्छ,’ डीआईजी खापुङले भने, ‘एकपटकको चोरीमा सफल हुँदा चोरले अरु घटनामा पनि त्यही विधि अपनाउँछ । एउटै तरिकाले चोरी गरिरहन्छ ।’ झ्याल र ढोका फुटाउनेदेखि सुरुङ बनाएर चोरी गर्ने गरिएको उनको भनाइ छ ।
उनका अनुसार सबै कुराको बिमा गर्ने भएकाले पश्चिमा मुलुकहरूतिर चोरी त अपराध नै हैनजस्तो गर्छन् । चोरी भएमा सबै बिमाले बेहोर्छ । तर, पिछडिएको समाज भएका मुलुकमा चोरीलाई ठूलो अपराध मानिने खापुङले बताए ।
डीआईजी चन्द्रकुवेर खापुङ ।
‘हाइटी, अफ्रिकाजस्ता मुलुकमा चोरीलाई गम्भीर अपराध मानिन्छ । नेपालकै मुलुकी ऐन, २०२० मा बारीको साग शब्जी चोरी गर्न आउँदा मान्छे मर्यो भने ‘खतवाद’ (बात, कसुर) नलाग्ने भन्ने थियो । अहिले त्यो व्यवस्था छैन । पिछडिएको समुदायमा चोरी धेरै हुन्छ । यो समाजको जटिल समस्या र रोग हो । ‘महाअपराध’ हो,’ उनले भने ।
अनुसन्धानमा धेरै मिहिनेत गर्नुपर्छ । प्रहरीले चाहेमा तत्काल पत्ता लगाउँछभन्ने अपेक्षा पीडितहरूले गरेका हुन्छन् । तर, पुलिसलाई चैं आमसर्वसाधारणको अपेक्षा पूरा गर्न गाह्रो भइरहेको हुन्छ ।
चोरीले समाजमा गम्भीर समस्या निम्त्याउने उनी बताउँछन् । ‘चोरी भयो भने धनीहरूलाई असर नपर्ला । सानातिना मान्छेको सबै सकिन्छ । समाजलाई नै असन्तुलित बनाइदिन्छ । खाइनखाइ वर्षौं मिहिनेत गरेर २–४ लाख जोडेको हुन्छ । एकपटक चोर पस्यो भने सबै लगिदिन्छ । सर्वस्व सकिएपछि रुवाबासी हुन्छ,’ खापुङ भन्छन् ।
व्यावसायिक चोरहरूले त्यत्तिकै कसुर नस्वीकार्ने उनको भनाइ छ । ‘अनुहार हेरेर चोर चिनिँदैन । अनुसन्धानमा धेरै मिहिनेत गर्नुपर्छ । प्रहरीले चाहेमा तत्काल पत्ता लगाउँछभन्ने अपेक्षा पीडितहरूले गरेका हुन्छन् । तर, पुलिसलाई चैं आमसर्वसाधारणको अपेक्षा पूरा गर्न गाह्रो भइरहेको हुन्छ,’ उनले भने, ‘अर्कोतिर मान्छे पक्राउ पर्दा काहिलेकाहीँ सामान भेटिँदैन । कतै लगेर बेचिसकिएको हुन्छ । दसी फेला नपरेपछि चोर छुट्छ । फेरि फर्किएर चोरीमै संलग्न हुन्छ । नियन्त्रण निक्कै चुनौतीपूर्ण छ ।’
मुद्दाको हदम्यादले पनि अनुसन्धानमा समस्या भइरहेको बताउँदै डीआईजी खापुङले चोरी रोक्न सतर्कता र सवाधानी अपनाउनु नै सबैभन्दा राम्रो एवं उत्तम उपाय हुने बताए । उनले सामानहरू घरमा राख्दा सुरक्षित ठाउँ छानेर र चोरले हत्तपत्त नभेट्ने ठाउँमा राख्नुपर्ने सुझाव दिए ।
दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने खापुङ बताउँछन् । चोरीमा संलग्नलाई कारबाहीका लागि कडा कानुन आवश्यक देखिएको उनको भनाइ छ ।
‘सामाजिक मूल्यमान्यता कमजोर हुँदा बढ्यो’
सरोकारवालाहरू समाजले अस्वीकार गर्ने गतिविधिमा परेपनि चोरी, डकैती धेरै हुने गरेको बताउँछन् । पूर्वाञ्चल विश्वविद्यालयका सहप्राध्यापक एवं समाजशास्त्री डाक्टर कृष्णप्रसाद पाण्डेले सामाजिक मूल्यमान्यता कमजोर हुँदै जाँदा चोरीका घटना बढेको बताउँछन् ।
दण्डहीनतालाई प्रोत्साहित गरिँदा, गलत गर्नेलाई सजाय नहुँदा तथा नियम उल्लंघन गर्दा पनि बाँच्छुभन्ने छाप पर्दा व्यक्ति अपराधमा संलग्न हुन्छ ।
‘चोरीलगायतका अपराध गर्न हुँदैन भनेर ‘गाइड’ गर्ने सामाजिक मूल्यमान्यता कमजोर हुँदा व्यक्तिले समाजलाई टेर्न छाड्छ । व्यक्तिको उच्च महत्वकांक्षा र व्यक्तिगत स्वतन्त्रताको प्रयोग बढेपछि अपराध पनि बढ्नु स्वभाविक हो,’ उनले भने, ‘समुदायले बनाएका नियम उल्लंघन र ‘ब्रेक’ गर्नु नै चोरीलगायतका अपराध बढ्नु हो । यसले सामाजिक र सांस्कृतिक विचलन निम्त्याउँछ ।’
समाजशास्त्री डा. कृष्णप्रसाद पाण्डे ।
पारिवारिक, आर्थिक र व्यक्तिगत अवस्था, बेरोजगारी एवं महत्वकांक्षाका कारण चोरी धेरै हुने गरेको डा. पाण्डेको भनाइ छ । दण्डहीनताले प्रश्रय पाएर मान्छे नियम उल्लंनतर्फ उत्प्रेरित हुने उनले बताए । ‘दण्डहीनतालाई प्रोत्साहित गरिँदा, गलत गर्नेलाई सजाय नहुँदा तथा नियम उल्लंघन गर्दा पनि बाँच्छुभन्ने छाप पर्दा व्यक्ति अपराधमा संलग्न हुन्छ,’ उनले भने ।
डा. पाण्डेका अनुसार चोरीले सामाजिक संरचना र एकतामा खलल पुर्याउँछ । ‘चोरी धेरै हुँदा समुदाय र राज्यबीच विश्वासको संकट उत्पन्न हुन्छ । एकअर्कामा विश्वासको वातावरण बन्दैन,’ उनले भने, ‘सबैतिर त्रास बढ्छ । एउटा घरमा चोरी हुँदा गाउँका मान्छे रातभर सुत्न सक्दैनन् ।’
चोरीमा संलग्न व्यक्ति सामाजिक आदर्शको रूपमा स्थापित हुन नसक्ने उनको भनाइ छ । ‘चोरी कानुनी हिसाबले अपराध र समाजको ठूलो चुनौती हो । नागरिकको सम्पत्तिको सुरक्षमा राज्य र समाजले ध्यान दिनुपर्छ,’ डा. पाण्डेले भने, ‘चोरीले समुदायको सकारात्मक चित्रण हुन दिँदैन । बाहिरबाट हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।’
मान्छेको सम्पत्तिको रवाफ, मिहिनेत कम पर्ने, छिट्टै आम्दानी गर्न सकिने, देखासिकी, गरिबी र बेजगारी चोरी बढ्नुको मुख्य कारण हो ।
अपराधशास्त्री पुण्यप्रसाद पाठक चोरीले समाजलाई नराम्रो असर गरिरहेको बताउँछन् । ‘चोरी योजनाबद्ध हुन्छ । चोरिएको सामान फेला नपरेमा कसुर ठहर हुँदैन । सजाय भएन भने चोरी बढ्छ । व्यक्तिगत सम्पत्ति चोरीमा गरिब र सामान्य खालका मान्छेहरू बढी संलग्न भएको देखिन्छ,’ उनले भने ।
पाठकका शब्दमा श्रम गर्दा धेरै मिहिनेत लाग्ने र चोरी गर्दा कम परिश्रम पर्ने हुँदा मान्छे यो अपराधमा लाग्छ । मान्छेको सम्पत्तिको रवाफ, मिहिनेत कम पर्ने, छिट्टै आम्दानी गर्न सकिने, देखासिकी, गरिबी र बेजगारी चोरी बढ्नुको मुख्य कारण रहेको उनले बताए ।
अपराधशास्त्री एवं पूर्वसह–न्यायाधिवक्ता पुण्यप्रसाद पाठक ।
सम्पत्ति बाहिर देखाउने प्रवृत्ति, दसी फेला नपर्ने समस्या, सामान फेला नपर्दा सजाय नहुने व्यवस्थालगायत चोरी नियन्त्रणका चुनौती रहेको पाठकले बताए । ‘चोरीमा १ जनालाई कारबाही हुँदा १ हजार जना डराउँछन् । अनि अपराधमा संलग्न हुँदैनन्,’ उनले भने, ‘तर, सजाय भएन भने चोरी बढ्छ । यसले समाजलाई नमिठो असर गर्छ ।’
चोरीको प्रकृति फेरिएर पछिल्लो समय सुन, चाँदी, गरगहना, पैसा आदि चोरी धेरै हुन थालेको पूर्वसह–न्यायाधिवक्ता पाठकले बताए । ‘चोरी नियन्त्रणदेखि शान्ति सुरक्षाको महसुस गराउने दायित्व प्रहरीको हो । अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने कुरा त छँदैछ,’ पाठक भन्छन्, ‘प्रहरी प्रत्येक ठाउँमा पुग्न सम्भव नहुने भएकाले धनमालको सुरक्षामा व्यक्ति आफैं सचेत हुनुपर्छ । सबैले सावधानी अपनाउनुपर्छ ।’
यस्तो छ सजायको व्यवस्था
मुलुकी अपराध संहिता, २०७४ को दफा २४१ देखि २४८ सम्म चोरी तथा डाँका सम्बन्धी कसुरको विभिन्न प्रावधान छ । चोरी गर्ने वा गराउनेलाई २ वर्षदेखि ७ वर्षसम्म कैद सजाय र २० हजारदेखि ७० हजार रूपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।
सरकारी, सार्वजनिक, धार्मिक वा देवालयको सम्पत्ति चोरी गरेमा, मादक पदार्थ खुवाई, लागू पदार्थ सेवन गराएर वा बेहोस बनाएर सम्पत्ति चोरेमा, दुर्घटनालगायका संकटको मौकामा र आफू कार्यरत कार्यालय वा व्यक्तिको सम्पत्ति चोरी गरेमा तथा सवारीसाधन चोरेमा उक्त सजाय हुने हो । त्यसबाहेक अन्य अवस्थामा चोरी गर्ने र गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
नकबजनी चोरी गरेमा ३ देखि ५ वर्षसम्म कैद र ३० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । हातहतियार साथमा राखेर कसैलाई नियन्त्रणमा लिएर ज्यान मार्ने नियत राखेमा वा गम्भीर चोट पुर्याउँदै डाँका गरेमा १४ वर्षसम्म कैद हुन्छ । ३ जनाभन्दा बढीले चोरी गरेमा डाँका मानेर ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन्छ ।
चोरीमा प्रयोग हुने औजार बोकेर हिँड्नेलाई पनि चोरी उद्योगअन्तर्गत १ वर्षसम्म कैद र १० हजारसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । बगली मार्नेलाई पनि सजायको व्यवस्था छ । १० हजारभन्दा बढीको धलमान बगली मारेमा १ महिनासम्म कैद हुन्छ ।
पहिलोपटक पकेट मारेमा १ महिनासम्म कैद वा विगो बमोजिम जरिबाना वा दुवै सजाय हुन्छ । त्यसपछि पटकैपिच्छे २ महिनासम्म कैद वा विगोबमोजिम कैद र जरिबाना दुवै हुन्छ । क्षतिपूर्ति पनि भराउनुपर्ने कानुनी प्रावधान छ । चोरीको सम्पत्ति किन्नेलाई कसुरमा हुने सजायमा १ वर्ष कैद र १० हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।