वैदेशिक रोजगारीमा जानेमा कोशीका तीन जिल्ला अग्रस्थानमा

Share this
611shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १६:१०

विराटनगर । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ठूलो रहेको सन्दर्भमा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीबाट पनि हजारौँ युवा विदेशिएका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा यी तीन जिल्लाबाट मात्रै ७ हजार ६३२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९० र सुनसरीबाट २ हजार २२६ जनाले अन्तिम श्रम स्वीकृति लिएका हुन्। देशभर वैदेशिक रोजगारीमा जानेको संख्या धेरै भएका जिल्लामध्ये कोशीका यी तीन जिल्ला परेका छन्।

Advertisement

जिल्लागत विवरणमा सबैभन्दा धेरै धनुषाबाट ३ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि झापा र मोरङ रहेका छन्। सुनसरी पनि धेरै श्रमिक विदेशिने जिल्लाको सूचीमा परेको छ।

देशभर भने चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा यो संख्या घटेर ६० हजार ४२ मा झरेको छ।

भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला छन्। तीमध्ये ३५ हजार ६२७ जना पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् भने २४ हजार ४१५ जना बिदामा नेपाल फर्किएर पुनः श्रम स्वीकृति लिने श्रमिक छन्।

भदौमा नेपाली श्रमिकको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। यूएईका लागि १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन्।

युरोपेली मुलुक रोमानियाका लागि १ हजार ७९३ तथा जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले श्रम स्वीकृति लिएका छन्। दक्षिण कोरियाका लागि सरकारी प्रक्रियामार्फत जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति पाएका छन्।

वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष श्रमिकको संख्या आधाभन्दा बढी छ। भदौमा श्रम स्वीकृति लिने ६० हजार ४२ जनामध्ये ३४ हजार १६७ अर्थात् ५६।९ प्रतिशत दक्ष श्रमिक छन्। १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष जनशक्ति छन्।

नयाँ श्रम स्वीकृति लिनेमध्ये २५ हजार ४१५ जनाले म्यानपावर कम्पनीमार्फत र ९ हजार २२४ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन्। हिमाली जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या निकै कम छ। समीक्षा अवधिमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×