खोटाङमा बजार अनुगमन, म्याद गुज्रेका सामान बरामद

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ०९:२६

खोटाङ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा होलसेल तथा किराना पसलको अनुगमन गरिएको छ।

संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणी चोक, त्रिवेणी चोक–हाटडाँडा र हाटडाँडा–अस्पताल चोकसम्मका ६६ वटा होलसेल तथा किराना पसलमा अनुगमन गरेको हो।

Advertisement

अनुगमनका क्रममा बरामद भएका म्याद गुज्रेका सामग्री सर्जमिन मुचुल्का गरी नष्ट गरिएको छ। म्याद नाघेका पेय पदार्थ खाल्डोमा हालेर तथा दैनिक उपभोग्य वस्तु जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा जम्मा गरी आगो लगाएर नष्ट गरिएको हो।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले पटकपटक अनुगमन गरी म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गर्दा पनि केही व्यवसायीले अटेर गर्ने गरेको बताए।

‘बजारमै म्याद गुज्रेको खाद्यवस्तु र पेय पदार्थ भेटिँदा दूरदराजमा म्याद गुज्रेका सामग्री कति फेला पर्लान् भन्ने प्रश्न खडा भएको छ,’ उनले भने, ‘सम्भव भएसम्म सबै ठाउँमा अनुगमन गर्ने योजना छ । जिल्लाबाट पुग्न नसकिएको ठाउँमा सम्बन्धित पालिकालाई अनुगमन गर्न आग्रह गर्छौँ।’

जिल्लाका व्यापारीबाट उपभोक्ता ठगिएको र म्याद गुज्रेका सामग्री बिक्री भइरहेको गुनासो सञ्चारकर्मीले गत भदौ २५ गते सरुवा भएर जिल्ला प्रशासन कार्यालय आएका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङसमक्ष राखेका थिए। त्यसपछि प्रजिअ गुरुङको निर्देशनमा होलसेल तथा किराना पसलमा अनुगमन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गुरुङले उपभोक्तालाई खाद्यवस्तु तथा पेय पदार्थ खरिद गर्दा म्याद भए/नभएको अनिवार्य जाँच गर्न आग्रह गरेका छन्। म्याद गुज्रेका सामग्री बिक्री गरेको पहिलो पटक भेटिएमा सचेत गराउने र पुनः त्यस्तो कार्य दोहोरिए कानुनी कारबाही गरिने उनले बताए।

‘उपभोक्ताको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न मिल्दैन । उपभोक्ता पनि सजग हुन आवश्यक छ,’ उनले भने।

खोटाङमा १० स्थानीय तह छन्। गाउँगाउँमा बिक्रीका लागि पठाइने दैनिक उपभोग्य सामग्रीको समेत नियमित अनुगमन हुनुपर्ने स्थानीयको माग छ। केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीय लक्ष्मण साम्पाङले गाउँमा बिक्रीका लागि ट्याक्टरमार्फत पठाइएका चामललगायत दैनिक उपभोग्य वस्तु म्याद गुज्रिएको भेटिएपछि नियन्त्रणका लागि अनुरोध गर्दा सम्बन्धित निकायले चासो नदिएको आरोप लगाए।

अनुगमन टोलीले जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रमा समेत अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×