
विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं जननायक बीपी (विश्वेश्वरप्रसाद कोइराला)को १११ औं जन्मजयन्ती आज (सोमबार) विविध कार्यक्रम गरेर मनाइँदै छ ।
उनी जन्मिएको आज १११ वर्ष पुगेको छ । नेपालको राजनीतिक र साहित्यिक क्षेत्रमा उनको विशिष्ट योगदान छ । बीपीको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको हो ।
उनले नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका थिए । पिता कृष्णप्रसाद कोइरालाले जहानियाँ राणा शासनको विरोधमा गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जान बाध्य भयो ।
मुलुकमा राणा शासनको अन्त्य गर्न बीपीको महत्वपूर्ण योगदान छ । निर्वासनकै बेला उनले भारतको स्वतन्त्रता सङ्ग्राम आन्दोलनमा भाग लिएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने उनको बुझाइ थियो ।
उनले भारतमै रहेर जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा आफ्नो नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए । सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेससँग नेपाली राष्ट्रिय कांग्रेसको एकता भयो ।
एकताको मुख्य उद्देश्य नै नेपालमा प्रजातन्त्र स्थापन गर्नु थियो । एकतापछि सबै गोलबद्ध भएर २००७ सालको क्रान्ति सफल पारेका थिए । दुवै दल एकीकृत भएर बनेको नेपाली कांग्रेस अहिले पनि संसदको पहिलो दल हो ।
२००७ सालको क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको सरकारमा बीपी गृहमन्त्री बनेका थिए । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गर्यो । अनि बीपी मुलुककै प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए ।
उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि महत्वपूर्ण भूमिका खेले । तर, २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरेर बीपीलगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइयो । बीपीसहित संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायतका मन्त्रीलाई १ महिनापछि सुन्दरीजल बन्दी गृहमा सारिएको थियो ।
पछि फेरि बीपी भारतमा ८ वर्षसम्म निर्वासित जीवन बिताउन बाध्य भए । २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक र महत्वपूर्ण मानिन्छ ।
बीपी मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो । धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भएपनि बीपीले निर्वाचन परिणामलाई स्वीकार गरे । क्यान्सरबाट पीडित भएका बीपीको विक्रम संवत २०३९ साल साउन ६ गते निधन भएको थियो ।
बीपीले नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान दिएका छन् । उनलाई नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धारका प्रवर्तक भनेर चिनिन्छ । उनका डेढ दर्जन कृति प्रकाशित छन् ।

























