पीडितको उद्धार र राहतलाई प्राथमिकतामा राख

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २४, सोमबार १५:४७

माओवादीले मुलुकमा २०५२ सालदेखि थालेको सशस्त्र द्वन्द्वको अन्त्य भएको लामै समय भइसक्यो । २०६२/०६३ को जनआन्दोलनपछि मुलुकमा शान्ति प्रक्रियाको बाटो खुल्यो । १ दशक लामो सशस्त्र संघर्षको नेतृत्व गरेको माओवादी पटकपटक सत्तामा पुगिसकेको छ । सत्ताको स्वादमा रुमलिएर माओवादीले विगतलाई भुल्दै गएपनि द्वन्द्वकालका अवशेषले अझैसम्म मानवीय क्षति निम्त्याइरहेको छ ।

ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको, कैयौं घाइते एवं अंगभंग भएको र अत्यधिक भौतिक संरचना तहसनहस बनाइएको कहालीलाग्दो विगतलाई माओवादीले ‘जनयुद्ध’ भन्न रुचाउँछ । तर, त्यही ‘जनयुद्ध’मा योगदान दिनेहरुको कुनै मूल्यांकन छैन । वास्तवमै विगत बिर्सिएर माओवादी व्यक्तिगत र पारिवारिक स्वार्थमा रमाइरहेको छ । युद्धमा होमिएकाहरुको पीडा आफ्नै ठाउँमा छ ।

तर, द्वन्द्वको व्यथा बल्झाउने घटना बेलाबखत भइरहेका छन् । पीडा र कष्ट भोग्न सर्वसाधारण बाध्य छन् । युद्धका अवशेष सर्वसाधारणको ज्यान लिने माध्यम बन्दैछन् । जथाभावी छाडिएका बम विस्फोट भएर निहत्था सर्वसाधारणको ज्यान गइरहेको छ । युद्धसँग कुनै साइनो सम्बन्ध नै नभएका बालबालिकाले मृत्युवरण गर्नुपर्ने त्रासदीपूर्ण अवस्थाको सिर्जना हुनु एकदमै दुःखद् हो ।

यसकै एउटा उदाहरण हो, पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँस्थित माओवादी कार्यकर्ता आइतराज केरुङको घरको आँगनमा भदौ १३ गते दिउँसो भएको बम विस्फोट । घरनजिकै अम्लिसो बारीमा फलामको डल्लो भेटेपछि बालबालिकाले खोल्न खोज्दा विस्फोट भएको थियो । विस्फोटमा परेर अढाई वर्षीया प्रिन्सा सावाँ र ११ वर्षीय दिप्सन सावाँको मृत्यु भएको थियो । उनीहरु दाजु–बहिनी हुन् । विस्फोटमा २ बालकहरु पवन राई र दिप्सन राई घाइते भए ।

बम विस्फोट भएको लामो समयसम्म प्रदेश सरकारको उपस्थिति नै देखिएन । पीडितले आफ्नै घरको छेउमा सरकार रहेको अनुभूति गर्न पाएनन् । न त त्यस क्षेत्रबाट चुनाव जितेका प्रदेश सांसद नै गम्भीर बनेको देखियो ।

घटनाले गाउँ शोकमा डुब्यो । गाउँले आतंकित भए । अझै पनि त्रासमा छन् । वर्षौअघि माओवादी कार्यकर्ताले छाडेको बम विस्फोट भएर बालबालिकाको मृत्यु र उनीहरु घाइते हुँदा कोशी प्रदेश सरकार भने बेखबर छ । प्रदेश सरकारले मृतकलाई राहत र घाइतेको उपचारमा चासो दिएको छैन ।

अहिले आएर घाइतेको उपचारमा संघीय सरकारले भने सहयोग गर्ने भएको छ । यद्यपि, त्यसअघि उपचार गराउने खर्च नभएपछि अभिभावकले घाइते बालकहरुलाई घर लिएर गएका थिए । अनुगमनका लागि पुगेको सीबीन नेपाल र इन्सेकको टोलीले अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लैजान दबाब दिए ।

दुवै बालकको अहिले कीर्तिपुरमा उपचार भइरहेको छ । तर, बम विस्फोट भएको लामो समयसम्म प्रदेश सरकारको उपस्थिति नै देखिएन । पीडितले आफ्नै घरको छेउमा सरकार रहेको अनुभूति गर्न पाएनन् । न त त्यस क्षेत्रबाट चुनाव जितेका प्रदेश सांसद नै गम्भीर बनेको देखियो । बरु एनजीओको उपस्थितिसँगै घाइते बालकहरुले उपचार पाउने वातावरण बन्यो ।

सरकारभन्दा एनजीओ अगाडि हो त ? भनेर प्रश्न पनि उठिरहेको छ । सर्वसाधारणले कुनै समस्या परेमा तत्काल सरकारको उपस्थिति खोज्छन् । सहयोग गरोस्भन्ने चाहन्छन् । तर, सरकार भने पीडितको पीडालाई नसुनिकन अन्यत्र दौडिरहेको छ । यसले सरकारसँग मानवीयता हराएको हो कि भन्ने भान पनि गराउँछ ।

कुनै सहयोग नगरी र प्रतिक्रिया नजनाइकन चुपचाप बस्नुले सरकारदेखि सांसदसम्म पीडितको पक्षमा छैनन् भन्ने महसुस गराएको छ । ‘हेर्ने कथा’मार्फत ३५ वर्षपछि परिवारको सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टेलिफोन गरेर सहयोग गर्ने बचन दिइरहँदा पाँचथर बम विस्फोटमा घाइते भएका बालक उपचार नपाएर छटपटाइरहेका थिए ।

उनीहरुको स्वास्थ्य अवस्थालाई लिएर अभिभावक तनावमा छन् । मृतक बालबालिकाका अभिभावक आँसुमा डुबिरहेका छन् । तर, त्यो दर्दनाक घटनाको विषयमा प्रदेश सरकार मौन देखियो । द्वन्द्वकै पीडा बल्झाउने यस्ता घटनामा सरकार मौन बस्नु उचित हैन ।

द्वन्द्वकालका बमले बालबालिकाको ज्यान जाँदा र उनीहरु घाइते हुँदासमेत प्रदेश सरकारलाई एकरति पनि दुखेन । बेवास्ता गरेर सरकार अनुत्पादक क्षेत्रतिर बढी दौडिरहेको देखिन्छ ।

द्वन्द्वरत पक्षले ओसारपसार गर्दा छाडेका वा लुकाएर राखेका बम र बारुद जताततै रहेको अनुमान पाँचथर घटनाबाट गर्छ सकिन्छ । तिनको प्रभावकारी रूपमा व्यवस्थापन हुन नसक्दा माओवादी द्वन्द्व सकिएको २ दशक पुग्न लाग्दा पनि ज्यान जाने क्रम रोकिएको छ । जंगल, खेत, भिडन्तस्थल, लुकाएर राखिएका ठाउँलगायतमा रहेका युद्धको अवशेषले जोखिम निम्त्याइरहेको छ ।

द्वन्द्वकालमा बेवारिसे हिसाबबाट छाडिएका बम र विस्फोटक पदार्थले अझै सर्वसाधारणको ज्यान गुमाउनुपर्ने अवस्था आउनुमा राज्यको कमजोरी हो । माओवादीले नै पटककपटक सरकारको नेतृत्व गरिसकेको छ । तर, विस्फोटक पदार्थ रहेका हुनसक्ने स्थानमा ‘सर्च’ गरेर सम्भावित क्षति न्यूनीकरणमा भने ध्यान दिएन ।

अर्कोतर्फ द्वन्द्वकालका बमले बालबालिकाको ज्यान जाँदा र उनीहरु घाइते हुँदासमेत प्रदेश सरकारलाई एकरति पनि दुखेन । सरकारले त कुनै पनि घटनाका पीडितको उद्धार, उपचार र राहतलाई विशेष प्राथमिकतामा राख्नुपर्ने हो । त्यस्तालाई बेवास्ता गरेर सरकार अनुत्पादक क्षेत्रतिर बढी दौडिरहेको देखिन्छ ।

जनताको समस्या र अप्ठेरोमा तत्काल हाजिर हुन नसकेकै कारण प्रदेश सरकारप्रति वितृष्णा बढ्दो छ । सरकारका कामकारबाहीको चौतर्फी विरोध भइरहेको छ । अब प्रदेश सरकारले बढ्दो वितृष्णा हटाउने र संघीयतालाई मजवुत बनाउने गरी काम गर्नुपर्छ । पीडितको उद्धार, उपचार र राहतलाई प्राथमिकतामा राख्नुपर्छ ।

तपाइको प्रतिक्रिया
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×