
विराटनगर । स्थानीय प्रशासनले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनमा हस्तक्षेपको तयारी गरेको छ ।
अनशनस्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । समर्थकहरुसहित पुगेका कार्कीले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा अनशन सुरु गरेका थिए ।
कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक अनशन सुरु गरेका हुन् । उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की अनशन बस्न ४ बजे पुगेका थिए ।
सुरुमा निषेधित क्षेत्रमा अनशन नबस्न आग्रह गरिने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । जबरजस्ती गरेमा हटाइने उनको भनाइ छ । निषेधित क्षेत्रमा अनशन बस्न नपाइने भट्टराईले बताए ।
कार्कीको अनशनलाई रोक्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा लगाइएका स्थानमा दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, र्याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाइएको हो ।



























