बोर्डको कार्यालय आफ्नै भवनमा स्थानान्तरण

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २६, बुधबार १५:०१

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय विराटनगर–७ माेतिरामा चाेककाे आफ्नै भवनमा सरेको छ ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष पाँचकर्ण राईले बोर्डको नयाँ कार्यालय भवनको उद्घाटन गरे । भवनको उद्घाटन गर्दै उनले नयाँ भवनबाट सेवा प्रवाह गर्न सहज हुने बताए ।

पहिलाको भवन बाहाल (भाडा)मा साँघुरो ठाँउमा थियो । असहज तवरबाट काम हुँदैआएको हुँदा अब नयाँ आफ्नै भवनबाट सेवा प्रवाह गर्न सहज हुने बताउँदै, मन्त्री राईले भने, ‘भाडा तिर्दा खेलकुदको केही बजेट यसमै जान्थ्यो । अब त्यो भाडा वापतको बजेट खेलकुदको प्रवर्द्धन गर्नका लागि कुनै शीर्षकमा थप्न सकिन्छ । आउँदै गरेको १० औं राष्ट्रिय खेलकुदको तयारीमा पनि खर्च गर्न सक्ने छौं । १० औं को तयारीका लागि प्रदेशभरका खेल प्रशिक्षक, खेलाडीलगायत खेलसँग आवद्ध सरोकारवालासँग आफ्नै भवनमा बसेर योजना बनाउन सकिन्छ । किनभने यसअघि कुनै सामान्य कार्यक्रम गर्न पनि होटल ताक्नुपर्ने र खर्च बढ्ने हुन्थ्यो अब त्यसमा केही कटौती हुन्छ ।’

सो अवसरमा खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बोर्डले नयाँ भवनबाट सहज रुपमा सेवा प्रवाह गर्नसक्ने बताए ।

यसअघि खेलाडी, खेलकुदका सरोकारवालाहरु सेवा लिन आउँदा भीडले असहज परिस्थित हुने गरेको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘अब आफ्नो फराकिलो भवनबाट सेवा प्रवाह गर्न सहज हुन्छ । आउँदै गरेको १० औं को तयारीलगायत अन्य खेलकुद गतिविधिका लागि कार्यालयमा आउने व्यक्तिहरुसँग छलफललगायत अन्य विभिन्न विषयमा संवाद गर्न सहज थिएन । अब नयाँ भवनबाट सहज रुपमा सेवा लिन पाउने छन् । खेलकुदका गतिविधि चलायमान बनाउनका लागि पनि कार्यालय भवन सहज हुनुपर्दो रहेछ । पहिलेको भवनमा २/४ जना व्यक्ति आउँदा वा खेलाडी बिदाइ गर्दा असहज हुने गर्थो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.