
विराटनगर । प्रदेशसभाको मिनी संसद मानिने सात वटा संसदीय समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् ।
समिति सभापतिमा एकल उम्मेदवारी परेपछि सबै सभापति निर्विरोध भएका हुन् । निर्विरोध निर्वाचित सभापतिको शपथ आज हुनेछ ।
प्रदेशको विषयगत संसदीय समितिको सभापतिमा कांग्रेस र एमालेले ३–३ र माओवादी केन्द्रले एउटा समिति सभापतिमा मनोनयन दर्ता गरेको थियो ।
प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा मनोनयन दर्ता गर्नेछन् । उनीहरु नेकपा एमाले सांसद हुन् ।
सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु नेपाली कांग्रेसका हुन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा राजन किरातीको उम्मेदवारी परेको छ । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन् । सभापति निर्वाचित भएको घोषणा र सपथ ग्रहण भने शुक्रबार दिउँसो २ बजे हुनेछ ।

























