
विराटनगर । ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामलाई नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा मन्त्री बनाउने विवादास्पद निर्णय लिएको छ ।
ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख डीएसपी राजन लिम्बू र उनको परिवारलाई लक्षित गरेर हाङ्गामले सार्वजनिक मञ्चबाट ज्यान मार्ने धम्की दिएका थिए । घटना २०८० साल भदौ २२ गतेको हो । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा समूहका सांसद हाङ्गाम आज उद्योग कृषि तथा सहकारीमन्त्री बन्दै छन् ।
कांग्रेस एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा आज सहभागी हुँदै छ । सरकारमा तत्काललाई संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मात्रै मन्त्री पठाउने तयारी छ । तत्काललाई कांग्रेसले ३ मन्त्री र १ राज्यमन्त्रीलाई सरकारमा पठाउने छ ।
कांग्रेसबाट सिटौला समूहका भूपेन्द्र राई भौतिक पूर्वधार, शेरबहादुर देउवा समूहका हाङ्गाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री बन्ने छन् । कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् ।
हाङ्गामले डीएसपी र उनका परिवारको ज्यान लिने धम्की दिएको घटनालाई भने त्यतिबेलै सामसुम पारेर मिलाइएको थियो । उनीमाथि कुनै कारबाही भएन । सत्तारुढ दलका सांसद भएकै हिसाबबाट उनले उन्मुक्ति पाएका थिए ।
हाङ्गामले कानुन हातमा लिएर अमर्यादित, उत्तेजक र माहोल भड्काउने हिसाबले सार्वजनिक मञ्चबाट अभिव्यक्ति दिएका थिए । तर, पक्राउ गरेर कारबाही अघि बढाउन प्रहरी पनि डरायो । प्रहरी अधिकृत र उनका परिवारलाई सखाप पार्ने धम्की दिने हाङ्गामलाई कांग्रेसले उपहारस्वरुप मन्त्री पद दिने भएको हो । उनले आज (शुक्रबार) बिहान ९ः४५ बजेतिर मन्त्रीको शपथ लिँदैछन् ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जनताको भोट जितेर सांसद भएको मान्छेलाई मन्त्री बनाउनु स्वभाविक भएको बताए । ‘त्यतिबेलाको घटना भनेको परिस्थितिजन्य कुरा हो । त्यो व्यक्तिगत कुरा हो । लडाइँ झगडा त मान्छेको हुन्छ । हाम्रो ‘ह्युमन नेचर’ पनि त छ । राजनीतिमा पार्टीबाट टिकट पाउँदै भोट जितेर आएपछि मन्त्री बनाउनु स्वभाविक हो,’ उनले भने ।
तामाङका अनुसार केही न केही योगदान गरेकै कारण हाङ्गामले चुनाव जितेर आएकाले मन्त्री बनाउन लागिएको जानकारी दिए । ‘त्यो ठूलो कुरा हैन । सांसदजस्तो मान्छेलाई डीएसपीले पनि त धम्क्याउन हुने थिएन । समाचार लेखे हुन्छ, केही फरक पर्दैन,’ तामाङले भने ।
यस्तो थियो घटना
ताप्लेजुङको फुङलिङमा आयोजित मिनी मेलामा सांसद हाङ्गाम र डीएसपी लिम्बूबीच २०८० भदौ २१ मा विवाद भएको थियो । उनीहरुबीच आरोप प्रत्यरोप नै चल्यो । त्यसको भोलिपल्ट हाङ्गामले फुङलिङमा कोणसभाको आयोजना गरेर डीएसपी लिम्बू र उनका परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका हुन् ।
सांसदले ज्यान मार्ने धम्की दिएकामा प्रहरीले आपत्ति प्रकट गरेको थियो । तर, कारबाही भने गर्न सकेन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका तत्कालीन एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति नै बनाइएको थियो ।
कांग्रेसले त्यतिबेला पनि हाङ्गामको बचाउ गरेको थियो । उनले दिएको अभिव्यक्ति गलत भए पनि वातावरण बिगार्ने काम प्रहरीबाटै भएको प्रतिक्रिया दिएर हाङ्गामलाई बचाइएको थियो । प्रहरीले सादा पोसाकमा गएर व्यक्तिको घर तोडफोड गरेको, ढोका बाहिर निकालेको, कुटपिट गरेको र गुन्डागर्दी शैली अपनाएको आरोप कांग्रेसको थियो ।
कांग्रेसले विज्ञप्ति नै जारी गरेर प्रहरीबाट ज्यादती भएको भन्दै निन्दा प्रकट गरेको थियो । सार्वजनिक हिसाबले हिंसा भड्काउने गरी उत्तेजक अभिव्यक्ति दिने सांसदको बचाउमा कांग्रेस लाग्यो ।
मेलामा सहभागी भएका पेमा लामा तामाङ सुकेटार घुमफिर गरी फर्कने क्रममा प्रहरीले मुक्का प्रहार गर्नुका साथै आँखामा गम्भीर चोट लग्नेगरी सेटले समेत हिर्काएको कांग्रेसको दाबी थियो । घटनाका बारेमा बुझ्न खोज्दा हाङ्गामलाई बर्दी र सादा पोसाकका प्रहरीले गालीगलौज गर्नुका साथै उनको घरमा ढुंगामुडासमेत गरेको दाबी गरेर कांग्रेसले उनलाई उन्मुक्ति दिन भूमिका खेलेको हो ।

























