यी हुन् विराटनगरको माछापुच्छ्रेमा घोटाला गरेर भागेकाहरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन २, बुधबार १९:३६

विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा भएको घोटाला अहिले चर्चामा छ ।

संचालक समितिमा रहेकाहरु बचतकर्ताको रकम हिनामिना गरेर भागिरहेका छन् । समितिका अध्यक्ष अमलेश कर्ण मात्रै पक्राउ परेका छन् । उनलाई प्रहरीले भदौ २६ गते बुधबार पक्राउ गरेको हो । अरु १४ जना भागिरहेका छन् ।

बचतकर्ताको उजुरीका आधारमा प्रहरीले अदालतबाट १५ जनाविरुद्ध पक्राउ अनुमति लिएको थियो । तर, फरार भएका कारण १४ जना पक्राउ परेका छैनन् । सर्वसाधारणको रकम हिनामिना गरी फरार हुनेहरु को को हुन् भनेर आमचासोको विषय बनेको छ ।

फरार हुनेमा सहकारीको निवर्तमान उपाध्यक्ष विराटनगर महानगरपालिका–७ का विनोद यादव, निवर्तमान सचिव विराटनगर–३ का अमित कार्की, निवर्तमान कोषाध्यक्ष विराटनगर–३ की राधादेवी लिम्बू, हालका उपाध्यक्ष विराटनगर–१० का सनातनकुमार मण्डल र सदस्य विराटनगर–४ का प्रभाकर थापा (सञ्जय) छन् ।

त्यस्तै, निवर्तमान सदस्य विराटनगर–१० का सूर्य साह, हालका सचिव एवं निवर्तमान लेखा समिति सदस्य विराटनगर–१० का उत्तम ढुंगेल, कोषाध्यक्ष विराटनगर–१० की सोमी भगत, हालका सदस्य विराटनगर–३ का तीर्थप्रसाद यादव, श्याम कोइराला, लेखा समिति संयोजक विराटनगर–३ का गोपालप्रसाद ढकाल, लेखा समिति सदस्य विराटनगर–१० का भीमप्रसाद सिंह, सञ्जय कर्ण र निर्मला चौधरी पनि फरार छन् । फरार रहेकाविरुद्ध अदालतले पक्राउ अनुमति दिइसकेको छ ।

संचालक रहेका नेता र कर्मचारी मिलेर सहकारी डुबाएका हुन् । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । आफूलाई राजनीतिकर्मी, अधिकारकर्मी र सामाजिक अभियन्ता भन्नेहरु नै सहकारीका संचालक थिए । उनीहरुकै मिलेमतोमा बचतकर्ताको रकम हिनामिना हुँदा सहकारी डुबेको छ ।

सहकारीको संचालक रहेकाहरु आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता पनि भन्ने गर्थे । सार्वजनिक हिसाबले भ्रष्टाचारविरुद्धको कार्यक्रम गर्दै आएका थिए । तर, भित्रभित्रै सहकारीको रकम भने उनीहरुले नै घोटाला गरेको पाइएको छ । सहकारीको ९ करोड २५ लाख घोटाला भएको देखिन्छ ।

सहकारीको कार्यालय १ वर्षदेखि बन्द छ । अध्यक्ष कर्णसहितका संचालक फरार भएका थिए । बचतकर्तासँग सम्पर्कविहीन भएका संचालकविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सहकारीको रकम हिनामिना प्रकरणमा संचालक र व्यवस्थापक जोडिएका छन् ।

सहकारीले लगानी गरेको ऋण उठ्न नसक्ने अवस्था छ । सहकारीका अध्यक्ष अमलेश कर्ण तत्कालीन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष हुन् । उनी २ पटक विराटनगरको मेयरमा उठेका थिए ।

ठगी प्रकरणमा जोडिएका संचालक प्रभाकर थापा (संजय) नेपाली कांग्रेसका महासमिति सदस्य एवं कांग्रेस भातृ संगठन तरुण दल मोरङका सभापति हुन् । उत्तम ढुंगेल उपभोक्ता अधिकारकर्मीका रूपमा परिचित छन् । उनी पब्लिक फोरम नामक संस्थाका अध्यक्ष हुन् ।

सहकारी संचालक भागेपछि कोशी प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गतवर्ष जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेर छानबिन गरेको थियो । छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँमध्ये अध्यक्षसहित ४ पदाधिकारीले ६ करोड २८ लाख ६३ हजार ८ सय २५ रुपैयाँ अपचलन गरेको देखिएको थियो ।

सो रकमको ५० प्रतिशत पूर्वसचिव तथा व्यवस्थापक अमित कार्की र बाँकी रकम अमलेश कर्ण, प्रभाकर थापा र राधादेवी लिम्बूबाट असुल गर्नुपर्ने प्रतिवेदन समितिले दिएको थियो । कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार रुपैयाँ हिनामिना गरेको छानबिन समितिको निष्कर्ष छ ।

समितिका अनुसार कार्कीले सहकारीको रकम आफ्नो बैंक खातामा राखेर कारोबार गर्थे । २ वटा बैंकको आफ्नो खाताबाट उनले ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको थियो ।

सहकारीका पूर्वसचिव तथा संचालक प्रभाकर थापाले १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ, अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २ सय ७५ रुपैयाँ र कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९ सय ६६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन समितिले तयार पारेको थियो ।

सहकारीमा घोटाला गर्नेहरु ४ जना हुन् । अरु पछि जोडिएका थिए । सहकारीको संचालक समितिमा भएकाले गर्दा उनीहरुविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको हो । घोटालामा उनीहरुको संलग्नता छ कि छैनभन्ने अनुसन्धानपछि मात्रै पत्ता लाग्छ ।

सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दायित्वबाट मुक्त गर्न सकिने र अपुग एवं नोक्सानी भएको रकम संचालकले बेहोर्नुपर्ने छानबिन समितिले औंल्याएको थियो । सहकारीले २ करोड ८१ लाख ६७ हजार ऋण असुल गर्नुपर्ने देखिन्छ ।

सहकारीविरुद्ध बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सहकारीबाट पीडित भएकाको निवेदन आउने क्रम जारी रहेको बताए । उनले भने, ‘उजुरी आउने क्रम अझै जारी छ । अहिलेसम्म १ सय बढीको उजुरी परिसकेको छ । विस्ततृमा अनुसन्धान अघि बढाइएको छ ।’

सहकारी संकटमा परेपछि सहकारीका अध्यक्ष कर्णले पत्नीसँग सम्बन्धविच्छेद गरेको बताइएको छ । कांग्रेस नेता एवं सहकारीका संचालक थापाले सहकारीको पैसाबाट झापाको धुलाबारीमा जग्गा किनेको देखिएको थियो । छानबिन समितिले विराटनगरका बासिन्दा थापाले झापाको धुलाबारी नगरपालिका–२ मा १८ कट्ठा जग्गा खरिद गरेको फेला पारेको हो ।

जसमध्ये २ कित्ताको ९ कट्ठा जग्गा उनको श्रीमतीको नाममा छ । छानबिन समितिले थापा दम्पतीको जग्गा रोक्का राख्न सुझाव दिएको थियो । एकपक्षीय भएको भन्दै अध्यक्षसहितका पदाधिकारीले समितिको प्रतिवेदन स्वीकार गर्न मानेका थिएनन् ।

clockप्रकाशित मिति:  २०८१ आश्विन २, बुधबार १९:३६
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.