संविधान दिवस : यस्तो थियो नेपालका ६ संविधानकाे प्रस्तावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन ३, बिहीबार ०५:३३

विराटनगर । नेपालको नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । जनताका प्रतिनिधिले लेखेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक  संविधानलाई प्रगतिशील मानिन्छ ।

नेपालको संविधान जारी भएको यो पहिलो घटना भने होइन । वि.स. २००४ सालयता पटक-पटक संविधान जारी भएका थिए । पछिल्लो संविधानलाई दीगो र जनमैत्री संविधान मानिएकाे छ । नेपालमा पहिलो पटक २००४ सालमा संविधान लेखिएको थियो । तर, यो संविधान जारी भए पनि लागू गरिएन । त्यसअघि प्रधानमन्त्री जंगबहादुर राणाले बेलायतबाट फर्केपछि देशमा पहिलो पटक विक्रम संवत १९१० मा मुलुकी ऐन जारी गरेका थिए । पद्मशमशेर जवराले २००४ सालमा पहिलोपटक संविधान जारी गरे ।

Advertisement

नेपाली कांग्रेसले २००७ सालमा क्रान्ति गरेपछि प्रजातन्त्र घोषणा भयो । त्यसपछि २००८ सालमा अन्तरिम संविधान लागू भयो । त्यसको ८ वर्षपछि २०१५ सालमा नेपाल अधिराज्यको संविधान जारी भयो । त्यसपछि २०१९ सालमा नेपालको अर्को संविधान जारी भयो । २०४६ सालको जनआन्दोलनपछि नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । यही संविधान कार्यान्वयनका क्रममा माओवादीको सशस्त्र संघर्ष भयो । त्यसपछि २०६२–०६३ को जनआन्दोलनपछि नेपालको अन्तरिम संविधान २०६३ जारी भयो ।

अन्तरिम संविधानबमोजिम ६०१ सदस्यीय संविधानसभा सदस्यको निर्वाचन भयो । २०६५ सालमा संविधानसभाले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र घोषणा गरेको थियो । २०६९ साल जेठ १५ मा पहिलो संविधानसभाको विघटनपछि २०७० साल मंसिर ४ मा दोस्रो संविधानसभाको निर्वाचन भयो । सोही संविधानसभाले २०७२ असोज ३ मा गणतान्त्रिक नेपालको संविधान जारी गर्याे । नेपालका संविधानमध्ये २०७२ सालमा जारी भएको संविधान अन्यभन्दा फरक छ ।

नेपालको संविधान २०७२ को प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ भनी लेखिएको छ । २००४ सालमा राजा त्रिभुवनले संविधान जारी गरेका थिए । २०६३ सालकाे अन्तरिम संविधानभन्दा अघिको संविधानमा संविधानको संरक्षक राजा रहने प्रावधन थियो ।

नेपालको पहिलो संविधान २००४ सालको पहिलो संविधानको प्रस्तावना लेखिएको छ,‘आगे नेपाल भरमुलुकका भाइभारदार, साहूमहाजन, रैयत दुनियां गैह्न के यथोचित उप्रान्त संवत् १९०३ सालदेखि श्री ५ महाराजाधिराजहरूबाट समय समयमा पाला पालाका श्री ३ महाराजहरूलाई बक्सेको भर मुलुकको शासनसंवन्धि अख्त्यारको पंजापत्रबमोजिम हामीबाट मुलुकको हाल हुकूम पाई काम चलाईआएकोमा श्री पशुपतिनाथ सुरक्षित यो पुण्य भूमि नेपाललाई सामाजिक, आर्थिक, राजनैतिक, सबै सुधारद्वारा संसारका अग्रगामी राष्ट्रहरूको उन्नतिको दाँजोमा पुऱ्याउन हाम्रो गाढा इच्छा भए‌को हुनाले, र परंपरादेखि चलिआएको आफ्नो संस्कृतिको अनुकूल पञ्चायत प्रणाली र अरू सोही प्रकारका संस्थाको पुनरुत्यानद्वारा हाम्रा प्यारा प्रजालाई राजप्रणालीको हरेक अंगमा झन् झन् बढीमात्रामा सम्मिलित गराई मुलुक र दुनियाँको उत्तरोत्तर वृद्धि गराउने हाम्रो इदमित्व नीति भएकोले, र यस किसिमको वृद्धि क्रमसःयथा समय मात्र हुन सक्ने औ नयाँ अख्तियारीअनुसार काम गर्नेहरूको सहयोग र नयां अभिभारा चलाईएको कुसलताबाट थप अधिकारको निर्णय हुनुपर्ने भएकोले, र हामीबाट यस कुरामा तुरुन्त कदम बढाइबक्सने बखत आयो भन्ने ठहऱ्याइबक्सेकोले’ संविधान जारी गरेको उल्लेख छ ।

पहिलाे संविधान प्रस्तावना (२००४)
२००७ सालकाे संविधानकाे प्रस्तावना
२०१५ सालकाे संविधानकाे प्रस्तावना
२०१९ सालकाे संविधानकाे प्रस्तावना
२०४७ सालकाे संविधानकाे प्रस्तावना
२०६३ सालकाे संविधानकाे प्रस्तावना
२०७२ सालकाे संविधानकाे प्रस्तावना

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.