विराटनगर । कोशी प्रदेशमा आँखा रोगको अवस्था र न्यूनीकरण गर्नसक्ने आँखा रोगको अवस्था नामक पुस्तक सार्वजनिक गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, उपसभामुख सिर्जना दनुवार, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरीलगायतले पुस्तक विमोचन गरेका हुन् ।
कोशी प्रदेशमा आँखा रोगीको संख्या बढ्दो पाइएको छ । प्रदेशमा विद्यमान दृष्टिविहीनताको अवस्था तथा यसका कारणहरु, आँखा स्वास्थ्य सेवाको प्रभावकारिताबारे गरिएको अनुसन्धानमा आँखाका रोगीहरुको संख्या बढेको पाइएको हो ।
नेपाल नेत्र ज्योती संघलगायतका विभिन्न संघसंस्थाको सहयोगमा गरिएको अनुसन्धानमा ५० वर्षभन्दा माथिका ४ हजार १ सय २१ जनाबाट नमूना संकलन गर्दा ६ हजार २ सय २४ जनामा दृष्टिविहीनता भएको रिपोर्ट सार्वजनिक गरिएको छ ।
त्यस्तै, गम्भीर दृष्टिदोषका ९ हजार १ सय ६३ जना, मध्यम दृष्टिदोषका अवस्थामा रहेका ३८ हजार १ सय २१ जना रहेको तथ्यांक सार्वजनिक गरिएको हो । यस्तै ५५ हजार ५ सय ८६ जनामा भने प्रारम्भिक दृष्टिदोषका समस्यामा रहेको पाइएको छ ।
कोशी प्रदेशमा १ लाख ९ हजार ९४ जनामा कुनै न कुनै प्रकारको दृष्टिदोष रहेको पाइएको हो । जसमा पुरुषमा भन्दा महिलामा बढी दृष्टिदोषको समस्या भेट्टिएको थियो ।
महिला ६० हजार ९ सय १४ जनामा दृष्टिदोषको समस्या रहेको पाइएको छ भने ४८ हजार १ सय ८० जना पुरुषमा दृष्टिदोष भेट्टिएको हो ।
मोतीविन्दुका कारण मात्र ३ हजार २ सय ३८ जना व्यक्तिहरुका दृष्टिविहीनता देखिएको छ ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दृष्टिदोष र दृष्टिविहीनता अझै पनि प्रदेशको जनस्वास्थ्य समस्याको रुपमा रहेको भन्दै प्रदेश सरकार प्रभावकारी स्वास्थ्य सेवा प्रदानका लागि परेको र सोही अनुसार बजेट व्यवस्थापन गर्दै लैजाने बताए ।