
विराटनगर । आज संविधान दिवस । देशभर संविधान दिवसमा विभिन्न कार्यक्रम गरि मनाइरहँदा विराटनगर महानगरपालिका – ५ मा रहेको एभरेष्ट सेकेन्डरी स्कुलले विज्ञान प्रदर्शनी गरेको छ ।
संविधान दिवस महत्वपूर्ण दिन भएकोले विद्यार्थीलाई थप सृजनशील बनाउनका लागि विज्ञान प्रदर्शनी गरिएको विद्यालयले जनाएको छ ।
शैक्षिक पाठ्यक्रममा सिकाइने हरेक विषयलाई प्रयोगात्मक विधिबाट अध्यापन गराउँदै आएको एभरेष्टले विभिन्न अन्वेषणका लागि कारखाना समेतको सहकार्यमा नियमित प्रयोगात्मक कक्षा सञ्चालन गरिरहेकाे छ ।
बिहीबार विभिन्न १८ वटा कक्षामा विद्यार्थीले बनाएका १०१ परियोजना राखिएको थियो ।
कक्षा ६– ८ सम्मका विद्यार्थीले रोबोट बोट, हाइड्रोलिक जेसिबी, चुम्बकीय रेल, न्यूटनको चाल सम्बन्धि तेस्रो नियमको व्यवहारिक परिदृश्य, स्मार्ट सिटिका लागि आवश्यक पूर्वाधारहरु, सूर्य ग्रहण र चन्द्रग्रहण लाग्ने कारण, अणु बम, गुरुत्वाकर्षण लगायतका विषयमा तयार पारेका थिए ।
नेपालको संविधान दिवसमा स–साना बालबालिकालाई र्यालीमा सहभागी गराउने भन्दा पनि रचनात्मक काममा लगाउनु उपयुक्त हुने भएकाले विज्ञान प्रदर्शनी गरेको विद्यालयका प्रिन्सिपल टिकाराम पुरी बताउँछन् । संविधानको मर्म अनुसार मुलुकको समृद्धिमा विद्यार्थीलाई केन्द्रित गर्नुपर्ने उनले बताए । ‘हामीले नयाँ ढंगले संविधान दिवस मनाएका हौं । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्दा पनि पञ्चायती शैलीलाई आत्मसाथ गर्ने हैन,’ उनले भने,‘हरेक विद्यालयमा अब रचनात्मक ढंगले संविधान दिवस मनाउनुपर्छ । हरेकको मन–मनमा संविधान दिवसको महत्वले छुनुपर्छ ।’

























