मोरङबाट सशस्त्रले बरामद गर्यो पटका

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ५, शनिबार १४:२७

विराटनगर । मोरङको रंगेलीबाट सशस्त्र प्रहरीले शनिबार बिहान विभिन्न प्रकारका पटका बरामद गरेको छ ।

भारतबाट ल्याउँदै गरेको पटका रंगेली नगरपालिका–६ बाट बिहान ७ बजेतिर बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले बताए । उनका अनुसार प्रतावित सीमा सुरक्षा गुल्म सोराभागबाट खटिएको डीएसपी विश्वनाथ जीसी नेतृत्वको टोलीले पटका नियन्त्रणमा लिएको हो ।

भारतबाट ३ जना व्यक्तिले टाउकोमा बोकेर पटका ल्याउँदै गर्दा सशस्त्रले फेला पारेको थियो । सशस्त्रलाई देख्नसाथ पटका छाडेर उनीहरु फरार भएको जानकारी एसपी खड्काले दिए ।

पटका ३ लाख ९१ हजार ५ सय मूल्य बराबरको रहेको उनको भनाइ छ । बरामद गरिएको पटका नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।

चाडपर्व नजिकिएसँगै भारतबाट अवैध रूपमा पटकाहरु भित्रिन थालेका छन् । सुरक्षाकर्मीलाई छलेर पटका भित्राउने गरिएको हो ।

पटका नियन्त्रणमा लिन र भित्रिन नदिन नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको एसपी खड्काको भनाइ छ । पटका ओसारपसारलगायत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीलगायतका निकायसँग समेत समन्वय भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.