
विराटनगर । मोरङको बेलबारी नगरपालिका– ४ की आइतरानी राई र उनका पति तिलकसिंह राईको भोकनिद्रा छैन ।
छोरालाई विदेश पठाउनका लागि लिएको ऋणका कारण उनीहरुको भोकनिद्रा हराएको हो । आफ्नो डेढ करोड पर्ने जग्गा उनले विराटनगर बस्दै आएका संजयकुमार कर्णलाई पास गरेर १३ लाख रुपैयाँ ऋण लिएका थिए ।
आइतरानीले बेलबारी– ४ कसेनीको ३ कटठा ७ धुर जग्गा कर्णको नाममा २०८० साल साउन ११ गते दृष्टिबन्धक पास गरिदिएको बताइन् । सुरुमा १७ लाख दिने बताए पनि १३ लाख मात्रै दिएको उनको भनाइ छ ।
कर्णले २०८० साल असोज १० गते डेढ लाख रुपैयाँको चेक दिएका थिए । तर, बैंकमा रहेको उनको खातामा पैसा थिएन । उनीहरुले चेक बाउन्स गरे । जग्गा संजयकुमार कर्णले इटहरीस्थित सिद्धार्थ बैकमा राखेर ६३ लाख रुपैयाँ निकालेका छन् ।
डेढ करोड पर्ने आफ्नो जग्गा धितो राखेर ६५ लाख निकालेपछि उनीहरु बिचल्लीमा परेका छन् । उनीहरु आफ्नो जग्गा फिर्ताको माग गर्दै भौतारिरहेका छन् ।
उनीहरुलाई बेलबारी–४ कै धनबहादुर लिम्बूले कर्णसँग भेट गराइदिएका थिए । अहिले लिम्बू पनि फरार छन् । कर्ण ६ महिनायता फरार भएको राई दम्पती बताउँछन् ।
राई दम्पतीले छोरालाई विदेश पठाउन भनेर जग्गा दृष्टिबन्धक राखेपनि छोरा विकाश राईलाई विदेश पठाउन पाएनन् । भएको आफ्नो सम्पत्ति पनि अर्कैले बैंकमा राखेर ऋण निकालेका छन् । छोरालाई पठाउनका लागि पैसा नपुगेको उनीहरु बताउँछन् ।
राई दम्पतीले दृष्टिबन्धक पास गर्दा कर्णले टिनको घर भत्काउन भनेका थिए । उनीहरुले टिनको घर पनि भत्काएका छन् । अहिले छाप्रो बनाएर बसेका छन् ।
कमाउने उमेर पनि ढल्किदै गएको भन्दै (पतिको उम्मेर ६३ र पत्नीको उम्मेर ५२ पुगिसकेको छ) उनीहरुले आफ्नो सम्पत्ति फिर्ता गरिदिन अनुरोध पनि गरे । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी आफूले लिएको १३ लाख रुपैयाँको २ रुपैयाँका दरले ब्याजसहित तिर्ने र जग्गा भने फिर्ता हुनुपर्ने माग गरेका छन् ।



















