दुबईबाट पक्राउ गरेर ३ जनालाई नेपाल ल्याइयो

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार १७:२९

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्दै विभिन्न मुद्दाका फरार ३ जना प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याइएको छ ।

ठगी र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा फरार भएका ३ जनाविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गर्दै दुबईबाट पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया भूपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी ठगीसम्बन्धी मुद्दाका फरार प्रतिवादी हुन् ।

मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१० का २६ वर्षीय रोमन कार्की जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार दुबईबाट ल्याइएका ३ जनालाई सम्बन्धित मुद्दामा कारबाही हुनेछ ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले आग्रहपछि इन्टरपोल महासचिवालयबाट २०७९ जेष्ठ १६ गते पक्राउका लागि भूपेन्द्र बोहोराविरुद्ध ‘रेड नोटिस’जारी भएको थियो।

त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको आग्रहमा इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्कीविरुद्ध ‘रेड नोटिस’ जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये भूपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाहीका लागि आज बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.