भारतबाट पक्राउ परे मेयर, सहकारी ठगीमा थिए फरार

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ११, शुक्रबार १७:०५

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीले आज नयाँ दिल्लीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई नेपाल ल्याउनका लागि आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ ।

पक्राउ परेका मेयर नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचतकर्ताको रकम अपचलन गरी २०८० जेष्ठदेखि फरार रहेका थिए ।

२०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

यो सहकारी प्रकरणमा मुछिएका अन्य सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चले पनि उनी कारबाहीको दायरा बाहिर थिए । मेयर नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् ।

उनले बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.