अधितम मूल्यमा टिकट बिक्री नगर्नेः वायुसेवा संघ

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १३, आइतबार १९:४६

काठमाडौं । वायुसेवा सञ्चालक संघले आज विज्ञप्ति जारी गर्दै अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका जनाएको छ ।

आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने विमान कम्पनीहरुको संघ ‘वायुसेवा संघ’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देश प्राकृतिक विपत्तिमा परेको समयमा पनि वायुसेवा कम्पनीले चर्को दरमा टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएको थियो ।

संघको आज बसेको बैठकले आम नागरिकलाई ध्यानमा आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष मनोज कार्कीले सोमबार, मंगलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए ।

उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए ।

यसो भएको अवस्थामा हवाई भाडा दर अझै घटाएर याात्रुलाई सहुलियत दिन सकिने उनले बताए ।

हवाई भाडा महंगो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए ।

हवाई भाडादर बढी लिएको चर्काे आलोचना भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि विपद्को अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको जनाएको छ ।

कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.