
‘अराजक’ शब्दको अर्थ नेपाली शब्दकोशमा लेखिएको छ, ‘कुनै पनि किसिमको अनुशासन नभएको, शासन व्यवस्था नमिलेको, अव्यवस्था भएको वा छाडा ।
अहिले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई ठ्याक्कै यो शब्द प्रयोग गर्दा हुने भएको छ । उनी जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधि हुन् । तर, उनको स्वभावले उनकै पदको खिल्ली उडाइरहेको छ । कर्मचारी धम्क्याउन, थर्काउन र १/२ वटा क्यामरा आफ्ना अघि देखे अरुका विषयमा तथानाम बोल्न उनी पछि पर्दैनन् ।
यो हाम्रो व्याख्या होइन, उनले पछिल्ला दिनहरूमा सबै सामु देखाइरहेका गतिविधिबाटै छर्लंग हुन्छ । उनलाई सम्भावना बोकेको युवा नेताका रूपमा हेर्ने गरिन्थ्यो । कडा र निडर स्वभाव भएको छाप छाडेका थिए । सरकारका कामकारबाहीको कडा आलोचना गर्ने र आफ्नै दल सरकारमा हुँदा पनि प्रतिपक्षीको भूमिका निर्वाह गर्ने नेताका रूपमा उनी परिचित थिए ।
विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा उदाएका कार्कीलाई सबैले असल नेता नै होलान् भन्ने आकलन गरेका थिए । तर, त्यो हैन रहेछ । व्यक्तिगत शैली र गतिविधिले उनी आफैंलाई नोक्सान पुर्याइरहेको छ । कहिले मन्त्रालयका सचिवलाई थर्काउँदै उनी विवादमा आउँछन् भने कहिले सीडीओलाई । पछिल्लो १ उदाहरण हो, ‘माटोमा कमिसन खाने, बाढी पस्दा चैं नआउने ?’ भन्दै मोरङका प्रमुख जिल्ला अधिकारीसँग गरेको फोन संवाद ।
संघीय सरकारका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका हर्कत बिर्साउने गतिविधि छ, केदार कर्कीको । मोरङका १ सामान्य नागरिक मात्रै भएको भए उनका गतिविधि सबैले पचाउँथे । नेपाली कांग्रेसका नेता एवं सांसद मात्रै पनि होइनन् । प्रदेश हाँक्ने मुख्यमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् ।
अब त उनले के बोल्ने, कहाँ बोल्ने र आफ्ना मतदातासहित प्रदेशबासीको हितमा के गर्ने ? भन्ने सोच्ने हो । तर, उनको कार्य र गतिविधि त्यस्तो रहेनन् । यो दुःखद् पक्ष हो । प्रदेशको ऐन कानुन बनाउने ठाउँमा रहेका उनी दैनिक नै जस्तो अनेक आरोप प्रत्यारोपमा उत्रिएको भेटिन्छन् ।
पछिल्लो एउटा घटनामा पनि उनको अपरिपक्वता र अराजकता प्रकट भयो । उनले जिल्लाका प्रशासकलाई माटोमा कमिसन खाने गरेको भनेर सिधै आरोप लगाए । त्यो पनि फोन गरेर नै । टेलिफोन संवादका क्रममा उनी अस्वभाविक र हेपाहा शैलीमा प्रस्तुत भएको फोटो रभिडियोसहितको समाचार मुलुकीखबरले प्रकाशन गरेको छ ।
भारी वर्षापछि शनिबार भलबाढी आएको थियो । विराटनगरमा बाढी पसेको बस्तीमा पुगेर कार्कीले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईसँग फोन संवाद गरेका थिए । तर, उनले त्यहाँ प्रकृतिक
विपद्को विषयमा छलफल गरेनन् । उल्टै आरोप लगाए । ‘माटोमा कमिसन खाने, बाढी पस्दा चैं नआउने ?’ भन्दै चर्किए ।
सीडीओ भट्टराईसँग पूर्वमुख्यमन्त्री कार्कीले गरेको टेलिफोन संवाद सामाजिक सञ्जालमा छलपस्ट छ । संवादका क्रममा लगाइएको अप्रमाणित आरोप, संवादको शैली र उनले अपनाएको तौरतरिकालाई लिएर अनेक टीकाटिप्पणी भइरहेको छ । कार्की आलोचनाको पात्र बनेका छन् । हुन त उनलाई यो बानी परेको हुन सक्छ । तर, उनलाई जनप्रतिनिधि बनाउन मत दिएका नागरिकलाई भने लाज लागेको हुनुपर्छ ।
आफूमाथि लागेका विभिन्न आरोप चैं उनी ढाकछोप गर्दै हिँड्छन् । अरुलाई आरोप लगाउँदै आफ्ना कर्तुत लुकाएर आमनागरिकलाई दिग्भ्रमित पार्छन् । उनी त मुख्यमन्त्री नै बनेका व्यक्ति हुन् ।
उनको दायित्व भ्रष्टाचार रोक्नु र भइरहेको भए सरकारलाई गम्भीर हुन आग्रह गर्दै त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याउनु पनि हो । तर, यसरी ‘मुख छाड्दै’ हिँड्नु होइन । कसैसँग उनको व्यक्तिगत रिसईबी छ भने त्यसलाई यसरी साँध्नु उनको नैतिकताले दिन्छ ? तर, उनका गतिविधि हेर्दा उनी जनप्रतिनिधिको भूमिकामा भन्दा आफ्ना रिस साँध्न तल्लिन देखिन्छन् ।
यो घटनाको पृष्ठभूमि पनि त्यस्तै देखिन्छ । उनले प्रदेश सरकारविरुद्ध अनशन सुरु गर्ने भनेको प्रदेशसभा भवन आसपासको क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा उल्लंघन गरेर कार्की अनशन बसे । तर, निषेधित क्षेत्रमा अनशन बसेपछि उनलाई स्थानीय प्रशासनले उठायो । त्यो रिस उनले अहिले पोखे, त्यो पनि क्यामरामा खिच्न लगाएर ।
यदी उनी सच्चा जनप्रतिनिधि भएका भए १ प्रशासकले माटोमा कमिसन खाइरहँदा उनी के हेरेर बस्थे ? मुख्यमन्त्री भएको समयमा ती कुराहरूको नियमन किन गरेनन् ? यदि माटो काट्नेसँग पैसा नै लिएको हो भने सीडीओलाई कारबाहीका लागि प्रक्रिया किन अघि बढाएनन् ? अरुलाई आरोप लगाउँदा आफूतिर पनि कति प्रश्न उब्जिए भनेर उनले केलाएनन् होला ।
हुन त भ्रष्टाचार र कमिसनले मुलुक भित्रभित्रै खोक्रो बन्दै छ । यसको जरा उखेल्नै पर्छ । तर, पूर्वमुख्यमन्त्री केदार कार्कीको तरिकाले होइन । उनले जनताको आँखामा सही देखिन नागरिकको काम गरेजस्तो गरी आफ्नो रिस साँधिरहेका छन् । यो खोलबाट उनी उत्रिनुपर्छ । केदार कार्की सुध्रिनुपर्छ । उनले बुझ्नुपर्छ, ‘अरुलाई १ औंला ठड्याउँदा, आफूतर्फ ४ औंला फर्किन्छन् भन्ने ।’

























