
सुनसरी । सुनसरीको धरान र बर्जुबाट प्रतिबन्धित औषधि र लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका-८ बाट प्रतिबन्धित औषधिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान¬–५ का २२ वर्षीय युवराज लिम्बू र १८ वर्षीय रोहित राईलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले तीनकुनेबाट पक्राउ गरेको हो ।
काँकरभिट्टाबाट धरान आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१९५ नम्बरको बसको सिटमुनी झोलाभित्र प्रतिबन्धित औषधि ट्रमाडोल ४ हजार ७ सय ५० क्यापसुल फेला परेको थियो ।
धरान प्रवेश गर्ने बस चेक गर्दा उनीहरुलाई शंका लागी सोधखोज गर्ने क्रममा प्रतिबन्धित औषधि बरामद भएको हो ।
त्यस्तै, बर्जु गाउँपालिका¬–५ बाट देवानगञ्ज गाउँपालिका–१ का १८ वर्षीय ललन मेहतालाई लागुऔषध गाँजा २५ केजीसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुहबी नगरपालिका–७ बाट १७ केजी गाँजासहित को २८ प ५८३५ नम्बरको मोटरसाइकल बरामद भएको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















