
विराटनगर । चाडपर्वलाई मर्यादित, सुरक्षित र भयरहित मनाउने वातावरण बनाउनका लागि कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले निर्देशन दिएका छन् ।
चाडपर्व विशेष सुरक्षा योजनाअनुरुप प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै आपसी सद्भावका साथ मर्यादित, सुरक्षित र भयरहित रुपमा चाडपर्व मनाउने वातावरणमा बनाउनु पर्ने डीआईजी खापुङले बताए ।
चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि, कालो बजारी नियन्त्रण, खुला सीमा नाकाबाट हुनसक्ने चोरी, तस्करीलगायत विभिन्न आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन डीआईजी खापुङले सबै तहका कार्यालय प्रमुखलाई स्पष्ट निर्देशन दिएका हुन् ।
सीमा क्षेत्रलगायत बजार क्षेत्रमा धेरै भीडभाड हुने स्थानमा निगरानी बढाउनु पर्छ । चाडपर्वमा निजी र सार्वजनिक सवारीसाधान व्यापक रुपमा चल्ने भएको हुँदा कसरी दुर्घटना न्यूनीकरण गर्ने भन्ने ठोस योजनाका साथ ट्राफिक प्रहरी लाग्नुपर्ने डीआईजी खापुङले बताए ।
सवारी साधनमा आवतजावत बढी हुने हुँदा यात्रुहरुको सहजताका लागी यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाउन र दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउनसमेत निर्देशन दिए ।
चाडपर्वमा खेलिने जुवा, तास, जाँड रक्सी सेवन, लागुऔषधको प्रयोगलाई पुर्ण रुपमा नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रताका साथ कार्यान्वयन गर्नुपर्ने बताउँदै, डीआईजी खापुङले भने, मापसे चेकिङलाई कडाइका साथ निरन्तरता दिनु ।
मौसम प्रतिकूलताको कारण बाढी, पहिरो, डुबान जस्ता विपत्का घटनाहरु भइरहेको हुँदा प्रहरी संवेदनशील भई काम गर्न निर्देशन दिएका हुन् ।


















