
मकवानपुर । ८ किलोभन्दा बढी सुनसहित प्रहरीले २ जना भारतीय नागरिकलाई शनिबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । मकवानपुर प्रहरीका प्रमुख एसपी विश्वराज खड्काका अनुसार पक्राउ परेकाको साथबाट ८ किलो २ सय ४३ ग्राम ९ सय ७० मिलिग्राम सुन बरामद भएको छ ।
उक्त सुनको बजार मूल्य करिब साढे ११ करोड रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकपोस्ट थापेको थियो । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा सुन बरामद भएको एसपी खड्काले बताए ।
उनका अनुसार पक्राउ परेकाहरुले शरीरका विभिन्न भागमा लुकाएर ल्याएको पाइएको छ । जनकपुरबाट सुन काठमाडौं लैजान खोजेको प्रहरीको अनुमान छ । बरामद भएको सुनसहित पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइने प्रहरीले जनाएको छ ।


















