
हरेक वर्ष झैँ यसपालि पनि दसैंले छपक्कै छोपिसकेको छ । मौसम खुलेर उल्लासमय वातावरण बनेको छ । हुन त यसपालि दसैं आउनै लाग्दा भएको अत्यधिक वर्षाका कारण देशैभरि बाढीपहिरोको कहर देखियो । अढाइ सयभन्दा बढीले ज्यान गुमाए । कतिपय बेपत्ता छन् । कति घाइते र घरबारबिहीन बनेका छन् ।
सारा नेपालीलाई समान खालको पीडा दिएर यो वर्षका लागि वर्षाजन्य विपत्तिको बेला लगभग सकिएको छ । दसैंको उल्लासले टाढाटाढा रहेका नेपालीहरु आफ्नो मूल थलो फर्किरहेका छन् । कतिपय विदेशबाट पनि आउने क्रम जारी छ । आर्थत, कतिपय घरघर पुगेर रमाइलो गरिरहेका छन् ।
दसैं नेपालीको यस्तो मौलिक पर्व हो, जसले सबै पुस्तालाई एकै सूत्रमा बाँध्ने गर्छ । माया, ममता, स्नेह, आदर, सम्मान अनि सहअस्तित्वको विशेषता बोकेको दसैं त्यसै पनि नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो ।
नेपाल अझ अनेक धर्म, भाषा, जाति, सम्प्रदायका मानिस एउटै मालामा गाँसिएको देश हो । हरेक जाति, धर्म र सम्प्रदायको आआफ्नै सांस्कृतिक सम्पत्ति छ । त्यस्तो संस्कृति विभिन्न चाडपर्वको रूपमा नेपाली समाजमा लोकप्रिय छन् ।
हिमाल, पहाड, मधेस, पूर्वपश्चिम सबै ठाउँमा आआफ्नै मूल्य–मान्यता र रीतिरिवाजअनुसार चाडपर्व मनाउने गरिन्छ । सामाजिक विविधतालाई यिनै चाडपर्वले एकतामा रूपान्तरण गरेको छ ।
चाडपर्वलाई सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ । प्रायः चाडपर्व एकातिर प्रकृतिसँग तादम्यता राख्छन् भने अर्कोेतिर परस्पर सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात गरेको देखिन्छ । चाडपर्व पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्ने तथा नवीकरण गर्ने सेतु हो ।
सबैलाई दसैंको माहोलले छोपिसकेको छ । मान्यजनको आशीर्वाद, निधारभरि टीका र कानमा जमरा लगाउनु दसैंको विशेषता हुन् । असोज महिनाको शुक्ल पक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन पूजापाठ र मनोरञ्जन गरेर मनाइने दसैंमा दशमीलाई विशेष महत्व दिने गरिन्छ ।
पर्व मनाउने क्रममा केही कुरालाई विशेष ख्याल गर्नु उचित हुन्छ । देखासिखीमा अनावश्यक खर्च गर्ने चलन ठिक होइन । गच्छेअनुसार खर्च गर्ने बानीले व्यक्तिमात्र होइन, परिवार, समाज र समग्रमा मुलुकमै सकारात्मक प्रभाव पर्ने हुन्छ ।
पर्वमा मग्न भइरहेका बेला चोरी, लुटपाटजस्ता आपराधिक घटना बढ्ने गरेका छन् । विशेषतः दसैं, तिहारजस्ता चाडपर्वको मौका छोपेर अपराधीहरुले विभिन्न अपराधका गतिविधिहरु बढाउने गर्दछन् । यस अवधिमा चोरी, लुटपाट, चन्दा असुली, तस्करी, कालोबजारी र सवारी दुर्घटनालगायतका घटना र अपराध बढी हुने गर्छ ।
सुरक्षाको कुरालाई हेलचेक्र्याइँ नगरी गम्भीरतापूर्वक लिनुपर्छ । सुरक्षा निकायले पर्वका लागि विशेष योजना बनाएर कार्यान्वयनमा लाइसकेका छन् । यतिमात्र पर्याप्त होइन । नागरिक स्तरबाट पनि सुरक्षा कायम गर्न पहलकदमी हुनैपर्छ । सबै मिलेर अग्रसरता लिएमात्र आपराधिक मनोवृत्तिका मानिसहरु निरुत्साहित हुन सक्छन्, अन्यथा उनीहरु जसरी पनि आफ्नो योजना पूरा गर्न लागिपर्छन् ।
जे होस्, दसैं र त्यसपछिका तिहार, नेपाल सम्बत्, छठजस्ता पर्व लगातार आउँदैछन् । पर्वमा रमाइलो गरौँ । मान्यजनबाट आशीर्वाद थापौं । आफ्नो मौलिक संस्कृतिमा रमाऔं । नयाँ पुस्तालाई यस्ता संस्कार र संस्कृतिबारे जानकार बनाऔं । खानपिन र स्वास्थ्यमा ध्यान दिऔं । नेपालीहरुको महान पर्वका अवसरमा हाम्रो तर्फबाट सबै शुभचिन्तकहरुमा मंगलमय शुभकामना । सबैको जय होस् ।



















