विराटनगर । सर्वाेच्च अदालतले सात दशकअघि आफ्ना विरुद्ध भएको फैसला ऊपर अपील नगरी बसेमा अपराध गरेकै ठहरिने फैसला गरेको थियो । नेपे दमाइको उजुरीमा सर्वोच्चले वि.स. २०१२ माघ २९ गते यस्तो फैसला गरेको थियो । यो फैसला नेपाल कानुन पत्रिकामा प्रकाशित पहिलो अंककाे नजिर हो ।
नेपे दमाइले आफ्नी आमालाई करणी गरेकाे भनि कृष्णबहादुर खड्का क्षेत्रीविरुद्ध करणी मुद्दा दर्ता गरेका थिए । याे मुद्दामा विराटनगर अमीनीबाट कृष्णबहादुरले करणी गरी गर्भ समेत रहेको फैसला गरेकाे थियाे । साथै खड्काकाे जात खस्ने फैसला पनि भएकाे थियाे ।
फैसलामा भनिएकाे छ,’निज कृष्णबहादुरले काली दमिनीलाई करणी गरी गर्भ समेत रहेको ठहर्छ । जनै झिकी अभक्ष्य खुवाई द.भनी खोपी दमाई जातमा मिली बसुँला भन्ने कागज गराई साधक सदर नभए सम्म थुनीराख्ने ठहराई विराटनगर अमीनीबाट २०१० असार ३२ गते गरेको जाहेरी फैसला ।’
प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको इजलासले २०१२ माघ २९ गते कृष्णबहादुर दोषी ठहर गरेको थियो ।
‘आमा छोरा मिली प्रतिवादी कृष्णबहादुरलाई पोल्नु पर्ने रीस इबी केही नदेखिएकोले निज कृष्णबहादुरले काली दमिनीलाई करणी गरी गर्भ समेत रहेको ठहर्छ ।शुरु देखिनै प्रतिवादी कृष्णबहादुरले अपील गर्न नसकेकोले समेत इन्साफ सदर,’ सर्वोच्चको फैसलामा भनिएको छ,‘ पानी नचल्ने जातको १४ नं. – करणी छोए छिटो हाल्नु पर्ने पानी नचल्ने जातमा भएमा स्वास्नीकै जातमा मिलाई दिने । कृष्णबहादुरले काली दमिनीलाई करणी गरी गर्भ समेत रहेको ठहर्छ । जनई झिकी अभक्ष्य खुवाई द।भन्ने खोपी दमाई जातमा मिली बसूँला भन्ने कागज गराई साधक सदर नभए सम्म थुनी राख्ने भनी अमीनी गोश्वाराले ठहराई जाहेर गरेको मुनासिब छ ।’