
काठमाडौं । के तपाईँ अरुले बनाएका भिडियो, खिचेका फोटोका साथै लेख, रचना, गीत, संगीत र चलचित्रका टुक्रा काटेर वा कपी गरेर आफ्नो सामाजिक सञ्जालमा राख्दै आउनुभएको छ ?
सचेत हुनुहोस् ! यदी यसो गर्नुहुन्छ भने तपाई जेल पनि पर्न सक्नुहुन्छ । सर्जकको अनुमति बेगर कुनै पनि लेख, फोटो, गीत, संगीत, चलचित्र जस्ता सिर्जना कपी गरे २ वर्षसम्म कैद हुन सक्छ ।
पछिल्लो समय आफ्नो सामाजिक सञ्जालमा एक जनचेतनामूलक भिडियो सन्देश राख्दै नेपाल प्रहरीले सिर्जना चोरी गर्दा हुने सजायबारे सबैलाई सचेत गराएको छ ।
‘कुनै पनि लेख, फोटो, गीत, सङ्गीत, चलचित्रहरू बौद्धिक सम्पत्ति हुन् । त्यस्ता बौद्धिक सम्पत्तिलाई सर्जकको अनुमति बेगर चोरी गर्ने, टिकटक बनाउने, रिलमा प्रसारण गर्ने, फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नगर्न नगराउन सबैमा अनुरोध छ,’ प्रहरीको भिडियोमा भनिएको छ ।
यदि कसैले त्यसो गरे प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम कारबाही गरिने भन्दै भिडियो मार्फत सचेत गराइएको हो । जसअनुसार पहिलो पटकको हकमा १० हजारदेखि १ लाख रुपैयाँ जरिबाना तथा ६ महिनासम्म कैद सजाय हुने छ ।
त्यसै गरी पटकेको हकमा २० हजारदेखि २ लाख रुपैयाँसम्म जरिबाना तथा २ वर्षसम्म कैद सजाय अथवा दुवै सजाय हुने छ । यसका साथै हुन गएको क्षतिको क्षतिपूर्ति समेत भराइने छ ।
प्रहरीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


















