विराटनगरमा फरक क्षमता भएका व्यक्तिमाथि आक्रमण र लुटपाट, एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १२, सोमबार १६:४७

विराटनगर । विराटनगरमा शारीरिक रूपले फरक क्षमता भएका व्यक्तिमाथि आक्रमण र लुटपाट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–११ का बब भनिने २४ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार सहनीलाई विराटनगर–११ बसपार्कबाट आइतबार राति पक्राउ गरिएको हो ।

सहनीले कात्तिक ४ गते बिहानका राति ३ बजेतिर फरक क्षमता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई आक्रमण गरेर लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रमणबाट गुरुङको दुवै हात भाँचिएको छ । टाउकोलगायत शरीरमा विभिन्न भागमा गहिरो चोट लागेको छ ।

गुरुङ बोल्न र सुन्न सक्दैनन् । इसाराले मात्रै कुरा गर्न सक्छन् । आक्रमण गरेर उनको साथमा भएको २० हजार रूपैयाँ नगदसमेत लुटपाट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोरखाबाट विराटनगर–१६ दरैया आएका गुरुङलाई रोडशेषबाट सीटी सफारीमा राखेर बसपार्क हुँदै महेन्द्र चोक पश्चिमस्थित नयाँ गोल्डेन अस्पतालपछाडि पुर्याएर बाँसले निर्घात कुटपिट गरिएको हो । मरणासन्न हुने गरी कुटपिट गरी २० हजार रूपैयाँ लुटपाट गरेर गुरुङलाई छाडिएको प्रहरीको भनाइ छ ।

साविकको विराटनगर–२० गुरुङको पुरानो थातथलो हो । १५ वर्षअघि ज्ञानबहादुर राईलाई घर तथा जग्गा बेचबिखन गरेर परिवारसहित गोरखा गएका गुरुङ घुम्नलाई विराटनगर आएका बेला आक्रमणमा परेका हुन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

डीएसपी जोशीले सुक्ष्म अनुसन्धान अघि बढाएर सीसी क्यामेरा फुटेज अध्ययन गरी घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको बताए । पक्राउ परेका सहनीविरुद्ध कुटपिट तथा अंगभंग शीर्षकमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक १२, सोमबार १६:४७
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.