
विराटनगर । छठ पूजाको तेस्रो अर्थात प्रमुख दिन आज (बिहीबार) अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ ।
भोलि शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन हुन्छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छैठ पर्व पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा पनि मनाउने क्रम सुरु भएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा पनि उल्लासमय हिसाबले छठ मनाइएको छ । पछिल्लो समय धार्मिक सहिष्णुता, भाइचारा, एकता र सद्भावको प्रतिकको रुपमा छठ पर्वलाई लिने गरिन्छ । विभिन्न जातजाति र समुदायले पनि छठ पर्व हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

छठको विधिपूर्वक व्रत बस्नाले मनोकामना पूरा हुने, आशा गरेको फल पाइने, परिवारको कल्याण हुने र सम्पूर्ण दुःखकष्ट हट्ने व्रतालुहरु बताउँछन् । पूजा सामग्रीसहित छठ घाटमा पुगेर आज रातभर जाग्राम बस्छन् । कोही घर फर्केर आउँछन् । भोलि बिहानै घाट पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गर्छन् ।
छठलाई हर्षोल्लासपूर्ण बनाउन खोला, नदी, पोखरी, तलाउलगायतका जलाशय चिटिक्क पारिएको छ । पण्डाल, केराको बोट, विभिन्न प्रकार फूल, विभिन्न रंगका अबिरसहित झिलिमिली बत्ती लगाएर पूजास्थल बेहुली भैं सिँगारिएको छ ।




































