धनराज गुरुङकी पूर्वपत्नीसहित २ जनाविरुद्ध ‘रेड नोटिस’ जारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक २३, शुक्रबार १७:३५

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेर फरार बनेका २ जनाविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध नोटिस जारी भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट ‘रेड नोटिस’ जारी भएको जानकारी दिए ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोप दुवै जनामाथि लागेको छ । सहकारी ठगीमा मुद्दा चलाउनलाई गुरुङ र भण्डारीविरुद्ध नोटिस जारी गर्न नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको थियो ।

रकम अपचलन गरेको भन्दै सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए । गुरुङ र भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

सहकारीको रकम अपचलनमा गुरुङ, भण्डारी र सुजन शाक्य, हितमान थापा तथा प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । सबै जनाले सहकारीबाट १२ करोड ५१ लाख अपचलन गरेको आरोप छ ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक २३, शुक्रबार १७:३५
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.