विराटनगर । जापान भ्रमण सम्बन्धी विवादमा मुछिएपछि पदबाट राजीनामा दिएका कोशीका प्रदेशसभा सदस्य एवं निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीले आफूलाई पार्टीको जिम्मेवारीबाट समेत हटाउन माग गर्दै निवेदन दिएका छन् ।
उनले नेकपा (एमाले)का प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई हस्तलिखित निवेदन बुझाउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन माग गरेका हुन् । एमाले नेताहरु जीवन घिमिरे, बाबुराम कार्की र भूराज राईलगायतका अगाडि उनले शुक्रबार खतिवडालाई निवेदन बुझाएका छन् ।
अधिकारी एमालेको प्रतिनिधि परिषद् सदस्य हुन् । उनले जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाए ।
घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भनेर सहयोग पुर्याउने उद्देश्यले पार्टीको जिम्मेवारीमा रहन नचाहेको उनको स्पष्टोक्ति छ । अनुसन्धान नसकिएसम्म आफूलाई जिम्मेवारीमुक्त गर्न माग गर्दै निवेदन दिएको अधिकारीले बताए ।
उनी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (२)बाट प्रदेश सांसद निर्वाचित भएका हुन् । अधिकारीले जनताद्वारा निर्वाचित सदस्यको हैसियतामा भने प्रदेशसभा सदस्यको जिम्मेवारीमा रहिरहने बताए ।
उनले पार्टीबाट कुनै हस्तक्षेप नहोस् र घटनाको अनुसन्धान निष्पक्ष हुनुपर्छ भन्नेमा आफ्नो जोड रहेको उल्लेख गरे । दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताउँदै उनले अनुसन्धानमा बिना संकोच आफूले सहयोग गर्ने बताए । ‘आवश्यक देख्यो भने प्रहरीले ममाथि पनि अनुसन्धान गर्न सक्छ । सहयोग गर्न तयार छु । त्यही भएर मैले कुनै पनि जिम्मेवारी नरहने निर्णय लिएको हुँ । अनुसन्धानबाट आएको निष्कर्षलाई स्वीकार गर्छु,’ उनले भने ।
अधिकारीले आफ्नो जापान भ्रमणमा प्रक्रियागत त्रुटि र कूटनीतिक मर्यादाको उल्लंघन भएको स्वीकार गरे । तर, मानव तस्करीमा जोडेर मिथ्या आरोप लगाउँदै चरित्र हत्या गर्ने काम भइरहेको गुनासो उनको छ ।
‘चाहेको भए म जापानको कार्यक्रममा सहभागी हुन सक्थें । तर, ३ जना असम्बन्धित व्यक्ति भेटेपछि जाने कुनै भएन । मानव तस्करको गिरोहले आफूलाई फसाएको निष्कर्षमा पुगें । तत्काल उनीहरुलाई लिएर नेपाल फर्किने निर्णय गरे । उतै हुँदा घटनाका बारेमा नेपाल प्रहरीका अधिकारीहरुलाई जानकारी गराएको छु । पक्राउ गर्नुपर्छ भनेर भनेको छु । काठमाडौं उत्रिनेवित्तिकै प्रहरीले पक्राउ पनि गर्यो । तर, अब चैं मानव तस्करको गिरोहबाट ज्यानलाई खतरा हुन्छ कि भन्ने लागेको छ,’ उनले भने ।
आफूमाथि अनुसन्धान गर्न बाटो खुला रहेको र प्रहरीलाई कतैबाट पनि हस्तक्षेप नहुने अधिकारीको भनाइ छ । जापान भ्रमण विवादमा परेपछि अधिकारीले बुधबार प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिए । मन्त्री हुँदा उनी प्रदेश सरकारको प्रवक्ता पनि थिए ।
अधिकारीमाथि लागेको आरोप र अनुसन्धानको प्रारम्भिक निष्कर्षलाई प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ३ जना व्यक्तिहरु कर्मचारी हुन् कि हैनन् ? भनेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग प्रहरीले सोधेको छ । त्यसको जवाफ पठाउने मन्त्रालयको तयारी छ ।
पक्राउ परेकासँग मन्त्रालयको नक्कली परिचयपत्र फेला परेको थियो । नक्कली कागजातका आधारमा जापान पुगेर उतै बस्ने योजना ३ जनाको देखिएको प्रहरी स्रोतले बताएको छ ।