
विराटनगर । मोरङमा वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड भएको छ । रंगेली नगरपालिका–९ को कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड गरिएको हो ।
मदिरा सेवन गरेर बसेका बालकहरुको समूहले घटना गराएको वडाध्यक्ष चूडामणि रेग्मीले बताए । वडा कार्यालय र स्वास्थ्य चौकी रंगेली–९ फर्साडाँगी भन्ने ठाउँमा छ ।
रेग्मीले ५ वटा झ्यालको १० वटा पल्लाको सिसा फुटाइदिएको र जालीसमेत तोडिएको जानकारी दिए । ‘छठको राति बालकहरुसहितको एउटा समूह वडा कार्यालय र स्वास्थ्य चौकी परिसरमा मदिरा सेवन गरेर बसेछ । सबैले मदिरा सेवन गरेपछि ढुंगाले हानेर सिसा फुटाइदिएको पाइयो । मदिराको नशामा घटना गराएछन्,’ उनले भने ।
रेग्मीले घटनामा संलग्न ५ जनाको पहिचान भएको र उनीहरु ११ देखि १६ वर्षसम्मका रहेको जानकारी दिए । ‘सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उमेर नपुगेका कारण उनीहरुलाई आवश्यकता परेका बेला उपस्थित गराउने सर्तमा अभिभावकको जिम्मा लगाएर पठाइएको छ । क्षति पुगेका झ्यालहरु पनि अभिभावकले नै मर्मत सम्भार गरिदिन्छौं भनेका छन्,’ रेग्मीले भने ।
उनका अनुसार इन्जिनियरले आइतबार लागत ‘इस्टिमेट’ तयार पारेपछि मर्मत सम्भावको काम अघि बढ्छ । वडा कार्यालय र स्वास्थ्य चौकी एकान्त ठाउँमा तथा एउटै परिसरमा छ । ‘वडा कार्यालय र स्वास्थ्य चौकी एकान्तमा छ । पर्खाल नाघेर सहजै भित्र छिर्न सकिन्छ,’ उनी भन्छन्, ‘कार्यालय परिसरलाई कुलतमा फसेकाहरुले जाँड रक्सी, गाँजा र चुरोट खाने ठाउँ बनाएका रहेछन् । नशाकै सुरमा तोडफोडसमेत गरिदिएछन् ।’
वडाध्यक्ष रेग्मीका अनुसार चोरी गर्ने उद्देश्यले नभइकन क्षति पुर्याउने हिसाबले घटना गराएजस्तो देखिन्छ । घटनाका बारेमा शनिबार बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेको जानकारी उनले दिए ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।


















