
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा १ दिने कष्टम हायरिंग सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
दिनानु दिन कृषि क्षेत्रमा जनशक्तिको अभाव भइरहेको अवस्थामा कृषिको व्यवसायीकरण, विविधीकरण, यान्त्रीकरण गरी उत्पादन बढाउनु पर्ने भन्दै विज्ञहरुले कस्टम हायरिंग (धान, मकै, गहुँ जस्ता उत्पादन वृद्धि गर्नका लागि नविनतम प्रविधि) को प्रयोग बढाउन आवश्यक रहेको विज्ञहरुको तर्क छ ।
सहज परियोजनको सहयोगमा जीवन विकास समाज (मुनाफा वितरण नगर्ने कम्पनी) को आयोजनामा भएको कार्यक्रममा बोल्दै डा. जितबहादुर चन्दले कृषि क्षेत्रमा स्थानीय तहदेखि नै ठूलो रकम खर्च भइरहेको भए पनि उपलब्धि भने कम भएको बताए ।
अहिले नेपालमा भित्रिएका कृषि उपकरणहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको देन रहेको उनले बताए । कृषिको व्यवसायिक स्थायित्वका लागि कष्टम हायरिंग अपरिहार्य भएको भन्दै कृषकहरुलाई सरकारले कष्टम हायरिंग (नविनतम उपकरण) दिएर मात्र नपुग्ने भन्दै कृषकहरुको क्षमता विकास गर्नु अपरिहार्य भएको बताए ।
उनले भने किसानलाई जोताइका लागि उपलब्ध गराएको ट्रयाक्टर, रोटाभेटर, कल्टिभेटर, गहुँ, मुसुरो प्याज, चुकुन्दर जस्ता बिउसँगै मल छर्ने मेसिन सिड ड्रिल, ट्रयाक्टरमा जडित बिषादी छर्ने बुम स्प्रेयर मेसिन, तीस मिटर उचाइसम्म हावामा उडाएर विषादी छर्ने ड्रोन स्प्रेयर, धान रोप्ने राईस ट्रान्सप्लान्टर धान, गहुँ काट्नेसँगै दाउनी गर्ने कम्बाईन हार्वेस्टर र धान र मकै सुकाउने ड्रायर उपलब्ध गराएको छ ।
तर, यी मेसिनहरु बिग्रेमा दक्ष जनशक्तिको अभावले थन्किएर बस्ने गरेको भन्दै गाउँगाउँमा कृषि इन्जिनियर पठाउन आवश्यक रहेको बताए । कृषि उपकरणहरु बाहिरबाट बर्सेनी १२ अर्बको आयात गर्ने गरेको भन्दै उनले यस्ता सामाग्री बिग्रेमा अर्बाै रकम थन्किने र सरकारको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्य पूरा नहुने भन्दै सोही अनुसारको जनशक्ति नेपालमै उत्पादन गर्न आवश्यक रहेको बताए ।
बाहिरबाट कृषि इन्जिनियर ल्याउँदा महँगो पर्ने भएकाले नेपालमै कृषि इन्जिनियर उत्पादन गर्नुपर्ने उनको भनाइ थियो । युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका देशहरुले भरपुर मात्रामा कृषि उपकरणहरु प्रयोग गरेर उत्पादन वृद्धि गरेको भए पनि नेपालमा भने न्यून रुपमा मात्रामा कृषि उपकरण प्रयोग गरेको बताए ।
कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तथा कृषि समिति सदस्य योगेन्द्र मण्डलले आफूले ११ करोडको कृषि उपकरण किनेको भए पनि कतिपय उपकरणहरु चलाउन नजानेर खिया लागेको बताए । उनले हरेक क्षेत्रका व्यक्तिले आफ्नो क्षेत्रमा राम्रो काम गरे देशमा आर्थिक समृद्धि आउने बताए ।
कार्यक्रममा बोल्दै उद्योग, कृषि तथा सहकारी मन्त्रालयक कोशी प्रदेशका योजना / अनुगमन महाशाखा प्रमुख पशुपति पोखरेलले मन्त्रालयले ५ वटा कस्टम हायरिंग सेन्टरलाई कृषि उपकरण अनुदानमार्फत उपलब्ध गराएको बताए ।
उनले भने पहिले यी कस्टम हायरिंग सेन्टरलाई बलियो बनाएर क्रमिक रुपमा अगाडि बढ्ने बताए । कस्टम हायरिंग सेन्टरले राम्रो काम गर्न सके सोही अनुसार अगाडि बढ्ने बताए ।
कस्टम हायरिंग सेन्टरमा सयौं मेसिन राखेर काम गर्नुभन्दा रिफरेन्स सेन्टर र रिस्रोस सेन्टर जस्तो काम गर्नुपर्ने बताए । कार्यक्रममा बारा, पर्सा, विरगञ्ज, दाङ, बर्दियालगायतका देशैभरबाट कृषि क्षेत्रका विज्ञलगायतका व्यक्तिहरुको सहभागिता थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले देशभर ६ सय ५ वटा कष्टम हायरिंग सेन्टर सञ्चालन गरेका छन् । जसमा ५० वटाले मात्र सक्रिय रुपमा काम गरिरहेका छन् । अजयकुमार मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


















