
विराटनगर । सुरक्षा सक्रियताका कारण कोशी प्रदेशमा यसवर्ष चाडपर्वमा ठूला अपराध र अप्रिय घटना हुन पाएनन् । यद्यपि, छिटपुट घटनाहरु भने भएका छन् ।
नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व दसैं, तिहार र छठमा फाटफुटबाहेक सामूहिक हिसाबका ठूला अपराध एवं अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १४ वटा जिल्ला रहेको कोशी प्रदेशमा यसवर्ष ठूला चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन् ।
प्रहरीले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाउँदै लागू गरेको थियो । प्रहरीले असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्मलाई चाडपर्वको अवधि मानेको छ । प्रदेशमा दसैं, तिहार र छठको अवधिमा २ सय ९३ वटा अपराध भएको प्रहरीले जनाएको छ ।
विशेष सुरक्षा योजना बनाएर लागू गर्दै सबै ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएका कारण दसैं, तिहार र छठजस्ता पर्वमा अप्रिय एवं ठूला घटना हुन नपाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी, डीएसपी ध्रुव श्रेष्ठले बताए ।
उनका अनुसार कोशीमा चाडपर्वको अवधिमा ५ जनाको हत्या भएको छ । हत्यामा संलग्न ७ जना पक्राउ परेका छन् । हत्यामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको छ । २०८० मा चाडपर्वको अवधिका ८ जनाको हत्या भएको थियो ।
प्रहरीका अनुसार यसवर्ष चाडपर्वको अवधिमा १ सय ५१ जनाले आत्महत्या गरेका छन् । गत वर्ष १ सय ७१ जनाले आत्महत्या गरेका थिए । यसवर्ष चाडपर्वमा लुटपाटका २, अभद्र व्यवहारका १, जुवा तासका १७, जबरजस्ती करणी (बलात्कार)का ३९, लागुऔषधका ५२ र चोरीका २६ वटा मुद्दा दर्ता भएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार जुवा तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय ५४ जना पक्राउ परेका थिए । जुवा र तासको खालबाट ३७ लाख ८९ हजार ६ सय ३० रूपैयाँ बरामद भएको उनको भनाइ छ ।
बलात्कारको आरोपमा ३३ जना, लागुऔषधमा ६० र हत्यामा संलग्न ७ जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । चोरी र लुटपाटमा संलग्नको प्रहरीले खोजी गरिरहेको छ । चोरीमा संलग्न केही पक्राउ पनि परेका छन् ।
अघिल्लो वर्षको चाडपर्वमा जुवा तासका ७, जबरजस्ती करणीका १०, लागुऔषधका ९८, चोरीका १० र हातहतियारसँग सम्बन्धित २ वटा घटना भएका थिए । डीएसपी श्रेष्ठका अनुसार चाडपर्वको अवधिमा विभिन्न ठाउँमा सवारी दुर्घटनामा परेर ३९ जनाको मृत्यु भएको छ । ९३ जना घाइते भएका छन् ।
विगतमा जस्तो यसवर्ष संगठित अपराध, सामूहिक बलात्कार, डकैती, आगजनीजस्ता ठूला एवं अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ । सबैको साथ र सहयोगका कारण तुलनात्मक हिसाबले यसवर्ष चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीको भनाइ छ ।
शान्ति सुरक्षाको अवस्था मजवुत बनाएकै कारण विगतमा जस्तो यसवर्ष ठूला अपराधिक घटना नभएको प्रहरीको विश्लेषण छ । प्रहरी सक्रियता बढाउँदै सुरक्षा व्यवस्था कडा पारेर चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सबै उपायको अवलम्बन गरिएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए ।
उनका अनुसार मानवीय चहलपहल, भीडभाड तथा आर्थिक गतिविधि धेरै हुने स्थानलाई विशेष निगरानीमा राखिएको थियो । चाडपर्वलाई लक्षित गरेर प्रहरीले चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावित स्थानको निगरानी बढाउँदा ठूला अपराध हुन नपाएको खापुङ बताउँछन् ।
उनका अनुसार बैंक, वित्तीय संस्था एवं आर्थिक गतिविधि धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठान, सुनचाँदी पसल, सरकारी तथा गैरसरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिकस्थल र पसलहरुमा सुरक्षा सतर्कता बढाइएकाले अपराधिक घटना कम भए । विगतका घटनालाई विश्लेषण गरी प्रहरी उपस्थित बढाएकै कारण सामूहिक अपराध रोकिएको डीआईजी खापुङ बताउँछन् ।
विगतमा भएका घटना एवं अपराधिक गतिविधिलाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । चाडपर्वका बेला सादा पोसाक तथा हतियारसहितका प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइएको थियो ।
संवेदनशील क्षेत्र तथा भित्री सडक र एकान्त स्थानमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको थियो । धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थान सुरक्षाकर्मीको विशेष निगरानीमा थिए ।
मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रणलगायतमा प्रहरीले ध्यान दिएको डीआईजी खापुङको भनाइ छ । चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण नेपाल र सशस्त्र प्रहरीको प्राथमिकतामा परेको थियो ।

डीआईजी चन्द्रकुवेर खापुङ ।
‘जुवा, तासलगायत गैह्रकानुनी खेलहरु र शान्ति भड्काउन खोज्नेलाई पूर्णरूपमा नियन्त्रणमा लिने योजनाअनुरुप काम गरियो,’ खापुङले भने, ‘उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षामा कमी भएन ।’ उनका अनुसार शंकास्पद व्यक्तिहरु एवं सार्वजनिकस्थलमा हुने गतिविधिको निगरानी, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रणमा प्रहरी सक्रिय थियो ।
चाडपर्वमा अपराध नियन्त्रण गर्न सीसी क्यामेरामार्फत निगरानी बढाउँदै प्राविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए । अवाञ्छित गतिविधि रोकथाम एवं नियन्त्रण गर्दै आमनागरिकमा सुरक्षित, भयरहित, हर्ष र उल्लासका साथ पर्व मनाउने वातावरण सिर्जना गर्न प्रहरीले सबै उपायको अवलम्बन गरेको उनको भनाइ छ ।
चाडपर्वका बेला सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीका साथै भारतीय ‘काउण्टर पाट्र्स’सँग समेत समन्वय र सहकार्य गरिएको जानकारी डीआईजी खापुङले दिए । भारतबाट लागूऔषध, हातहतियार एवं विष्फोटक पदार्थको ओसारपसार तथा अन्य अपराधिक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको उनको भनाइ छ ।

























