सुन र पैसा लुट्न ९४ वर्षीयाको हत्या

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३०, शुक्रबार १२:५५

भक्तपुर । भक्तपुरमा सुन र पैसा लुट्न ९४ वर्षीया वृद्धाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भक्तपुरको दरबार स्क्वायरमा ९४ वर्षीया विष्णु कुमारी त्वयना कात्तिक २८ गते बुधबार साँझ मृत भेटिएकी थिइन् । घरका दुईवटा तला भाडामा लगाएर उनी तेस्रो तलामा एक्लै बस्थिन् । तेस्रो तलामै शव भेटिएको हो ।

छोरा र बुहारी सूर्यविनायकमा बस्छन् भने भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरमा त्वयनाको अर्को पनि घर छ । दुवै घरको भाडा उनैले उठाउने गरेको प्रहरीले पत्ता लगाएको छ । घरको भाडा र उनको वृद्ध भत्ता पनि आउँथ्यो ।

प्रहरीका अनुसार दुवै खुट्टा बाँधेर र मुखमा कपडा कोचेर वृद्धको हत्या गरेपछि घटनामा संलग्नले कानमा लगाएको ८ आनाको सुनको रिङ र थैलीमा भएको पैसा लुटेर लगेको खुलेको छ । ‘सुन र पैसा लुट्नकै लागि हत्या गरेको पाइयो,’ प्रहरी स्रोत भन्छ, ‘वृद्धाको शव फेला परे पनि कानमा लगाएको सुन र थैलीको नगद छैन ।’

प्रहरीले केही व्यक्तिमाथि सोधपुछ गरिरहे पनि हत्यामा संलग्नको पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धान तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.