
विराटनगर । भोजपुर घर भएका एक जना युवा विराटनगरबाट आइतबार दिउँसो पक्राउ परेका छन् ।
रामप्रसाद राई गाउँपालिका–४ का ३६ वर्षीय विनोद विक दिउँसो २ बजेतिर पक्राउ परेका हुन् । उनलाई विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भारतको जोगवनीबाट लागुऔषध खरिद गरेर पैदल नै नेपाल छिरेका उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । विकको साथबाट लागुऔषध फेनारगन, डाइजेपाम र लुपिजेसिक १५/१५ एम्पुल बरामद भएको जानकारी प्रहरीले दिएको छ ।
विकविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























