फाइल फाेटाेसप्तरी । लागुऔषध गाँजाको ओसारपसार र कारोबारमा संलग्नले यसको तस्करीका लागि नयाँ–नयाँ शैली अपनाउने गरेको पाइएको छ ।
बालुवा र गिट्टीले छोपेर टिपरमा राखी तस्करी गर्दै गरेको ठूलो परिमाणको गाँजा बरामद भएको छ । टिपरमा गाँजा राखेर माथिबाट बालुवा र गिट्टीले छोप्ने गरिएको हो ।
यसरी नै तस्करी गर्दै गरेको १७ क्वीन्टल बढी गाँजा प्रहरीले बरामद गरेको छ । १ हजार ७ सय ३६ किलोग्राम गाँजा सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनिमन्दिरस्थित भित्री सडक खण्डबाट सोमबार राति बरामद गरिएको प्रहरीले जनाएको छ ।
टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपरलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको जानकारी प्रहरीले दिएको छ । त्यसलगत्तै टिपर र चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षी यमजित राईलाई समेत नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार ५६ वटा बोरामा प्याक गरेर टिपरमा राखी माथिबाट बालुवा र गिट्टीले छोपिएको अवस्थामा गाँजा फेला परेको हो । गाँजा कसले र कहाँ पठाएको हो भनेर यकिन भइसकेको छैन ।
पक्राउ परेका चालकविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























