
विराटनगर । विभिन्न मुद्दामा दोषी ठहर भएर लामो समयदेखि भागिरहेका २८ जना फरार प्रतिवादी मोरङका अलगअलग स्थानबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार लागुऔषध मुद्दाका ८, सवारी ज्यानका ४, केही सार्वजनिक अपराधका ३, चेक अनदार, लेनदेन र बैंकिङ कसुरका २/२ तथा काठ टुक्रा पारी ओसारपसार, नकबजनी चोरी, अभद्र व्यवहार, जालसाज, चोरी, बहुविवाह र कुटपिट अंगभंग मुद्दाका १/१ जनालाई पक्राउ गरिएको हो ।
विभिन्न मुद्दामा कैद सजाय तथा जरिबानाको फैसला भएकाहरुलाई मंसिर १ देखि ५ गतेसम्मको अवधिमा पक्राउ गरिएको उनले बताए । कैद सजाय तथा जरिबानाबापतको रकम भुक्तानी नगरिकन लामो समयदेखि फरार रहेकालाई पक्राउ गरेर अदालतमा बुझाइएको जानकारी डीएसपी जोशीले दिए ।
पक्राउ परेकाहरुबाट करिब ७ वर्ष कैद र २ लाख रूपैयाँभन्दा बढी जरिबाना असुल भएको छ । प्रहरीले पक्राउ परेर पेस गरेपछि कैद तोकिएकालाई अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । जरिबानाको फैसला भएकालाई त्यसबापतको रकम लिएर छाडिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेका छन् । ‘अपराध गरेर समाजमा खुलेआम हिँडडुल गर्नेहरुका कारण पीडितले असुरक्षित महसुस गर्छन् । पीडितले राहतको अनुभूति गर्न पाउँदैनन्,’ एसपी चिमरियाले भने, ‘अपराध गरेर भागिरहेका तथा दोषी ठहर भएका प्रतिवादीलाई पक्राउ गरी अपराध गर्ने छुट कसैलाई पनि छैन र कानुनले समेत छुट दिँदैनभन्ने सन्देश दिन चाहन्छौं । पीडितलाई न्याय दिन सबै उपाय अवलम्बन गरिने छ ।’
प्रहरी सधैं पीडितमैत्री भएर प्रस्तुत हुने उनको भनाइ छ । चिमरियाले कोही व्यक्ति अपराध गरेर लुकिछिपी बसेको भए प्रहरीलाई सूचना दिन पनि सबैमा आह्वान गरेका छन् । सूचना दिनेको नाम गोप्य राखिने र प्रतिवादीलाई तत्काल पक्राउ गरेर कानुनको दायरामा ल्याइने उनले बताए ।
यी हुन् पक्राउ परेका प्रतिवादीहरु

























