
विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख रुपैयाँ बेरुजू देखिएको छ ।
स्वास्थ्य मन्त्रीकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजू भएको जानकारी दिएका हुन् ।
यो बेरुजू बढ्दो क्रममा छ ।
गत आर्थिक वर्षमा मात्रै मन्त्रालमा १२ करोड ५ लाख बेरुजू देखिएको थियो । अघिल्लो वर्ष २०७९–८० मा ११ करोड २७ लाख रुपैयाँ बेरुजू देखिएको थियो ।
मन्त्री राईका अनुसार ३ करोड ५ लाख एक हजार ३२८ रुपैयाँ असुल गर्नुपर्ने बेरुजू हो ।
नियमित गर्नुपर्ने बेरुजू ३७ करोड ६२ लाख ७८ हजार रुपैयाँ छ ।
पेस्की बेरुजू भने ७१ लाख ३३ हजार रुपैयाँ छ ।
मन्त्री राईले मन्त्रालयको बेरुजू कम गर्नका लागि प्रयास भइरहेको जानकारी दिए ।

























