
विराटनगर । कोशी प्रदेश सरकार मातहत रहेको सरकारी अस्पताल अस्तव्यस्त बनेका छन् । प्रदेश मातहतका ९ वटा जिल्ला अस्पतालका अधिकांश उपकरण बिग्रिएका छन् । प्रदेशमा दक्ष जनशक्तिको चरम अभाव छ ।
कोशी प्रदेशको झापा, सोलुखुम्बु, उदयपुर, खोटाङ, पाँचथर, तेह्रथुम, संखुवासभा, ओखलढुंगा जिल्ला अस्पताल र मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर मंगलबारे मोरङमा रहेको अधिकांश उपकरण बिग्रिएका छन् । उपकरण बिग्रिएका कारण ती अस्पतालबाट बिरामी निजीमा रेफर हुन्छन् ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार अस्पतालमा रहेका केही उपकरण चलाउने जनशक्तिको अभाव छ ।
जिल्ला तहका अस्पतालमा अक्सिजन कन्सक्टरदेखि ईसीजी, एक्स–रे, अप्रेशन टेबल, यूएसजीलगायत अस्पतालमा सेवा प्रवाहका लागि न्यूनतम आवश्यक रहेका अधिकांश उपकरण बिग्रिएको मन्त्री राई बताउँछन् ।
‘जिल्ला तहका अस्पतालमा धेरै मेसिन बिग्रिएको अवस्थामा पाइयो । यसलाई मर्मत गर्न मिल्ने छ भने मर्मत गरेर सञ्चालन गर्नुपर्छ,’ मन्त्रालयको अवस्थाको विवरण सार्वजनिक गर्दै मन्त्री राईले भने, ‘अस्पतालबाट जनताले सामान्य सेवा पाइरहेको अवस्था देखिएन ।’
अधिकांश दरबन्दी खाली
कोशी प्रदेशको सरकारी स्वास्थ्य क्षेत्रको अर्काे ठूलो समस्या जनशक्ति अभाव हो । प्रदेश मातहतका अस्पतालमा दक्ष जनशक्तिको पनि चरम अभाव छ ।
स्वास्थ्य मन्त्रालय मातहत ११ औं तहका ५ दरबन्दी छन् , तर सबै रिक्त छन् । ९ र १० औं तहको वरिष्ठ कन्सलटेन्ट अब्सट्रेटिसियन एण्ड गाइनोकोलोजिष्ट र वरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियनको दरबन्दी ६–६ जनाको छ । ती दरबन्दी पनि सबै रिक्त छन् ।
वरिष्ठ कन्सलटेन्ट सर्जनको ६, जनरल फिजिसियनको ६, वरिष्ठ कन्सलटेन्ट साइक्याट्रिकको ५ वटा दरबन्दी छ । मन्त्रालयका अनुसार ती सबै दरबन्दी खाली छन् । वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्टको ५ दरबन्दी भए पनि एक जनामात्रै कार्यरत छन् ।
प्याथोलोजी, इएनटी सर्जन, डर्माटोलोजिष्ट, मेडिकल जनरलिष्ट, डेन्टल सर्जनको १–१ दरबन्दी भएपनि पदपूर्ति हुन सकेको छैन, सबै खाली छन् । अर्थापेडिक्स सर्जनको ५, मेडिकल सुपरिटेन्डेन्टको १० दरबन्दीमध्ये सबै रिक्त छ । कन्सलटेन्ट रेडियोलोजिष्टको ५ वटा दरबन्दी मध्ये ४ पद रिक्त छ ।
मेडिकल ल्याब टेक्नोलोजिष्टको ५, ल्याब टेक्निसियनको २१, स्टाफ नर्सको ८०, हेल्थ असिष्टेन्टको ३६, ल्याब असिष्टेन्टको १४, अनमीको ४६ र अहेबको २४ दरबन्दी रिक्त छ ।
रिक्त रहेका दरबन्दीमा प्रदेश लोकसेवा मार्फत तत्काल पदपूर्ति प्रक्रिया अघि बढाउने मन्त्री राईले बताए । ‘अधिकांश प्राविधिक दरबन्दी भएपनि जनशक्ति छैन,’ मन्त्री राईले भने, ‘जनशक्ति पदपूर्तिको प्रक्रिया अघि बढ्छ, लोकसेवामार्फत पदपूर्ति हुन्छ ।’ पदपूर्ति भएपछि सेवा प्रवाह सहज हुने उनले बताए । उनका अनुसार प्रदेशमा बिरामीलाई वितरण गर्ने औषधि पनि आर्थिक वर्षको अन्त्यमा मात्रै किन्ने परम्परा छ । त्यो परम्परालाई तोड्ने उनले बताए ।
बिग्रिएका उपकरणकाे विवरण



























