
जनकपुरधाम । बिहे गर्ने विषयमा विवाद हुँदा धनुषामा एक जना युवतीको हत्या भएको छ । जनकनन्दिनी गाउँपालिका–५ की २० वर्षीया रेखाकुमारी मण्डलको हत्या भएको हो ।
आफ्नै प्रेमीले रेखाको हत्या गरेको प्रहरीले जनाएको छ । रेखाको शव जनकनन्दिनी–४ स्थित आमाखोलामा फेला परेको थियो । प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत मंसिर ८ गते शंकास्पद शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढायो ।
अनुसन्धानका क्रममा रेखाकुमारीको हत्या उनकै प्रेमी जनकनन्दिनी–३ का २२ वर्षीय रामललित खत्वे मण्डलले गरेको खुल्यो । रामललितसहित घटनाका आरोपीहरु २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको सहिदनगर नगरपालिका–८ का २४ वर्षीय रमेशकुमार मण्डल रहेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए । उनका अनुसार तीनै जनालाई पक्राउ गरिसकिएको छ ।
रेखाको हत्याका मुख्य आरोपी उनकै प्रेमी रामललित रहेको प्रहरीले जनाएको छ । उनीहरु ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए । विवाह गर्ने विषयमा भएको विवाद हत्यामा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार रेखाका परिवारले रामललितसँग छोरीको बिहे गर्न अस्वीकार गर्दै आएका थिए । रेखाले भने भागेर बिहे गर्न रामललितलाई दबाब दिइरहेको पाइएको छ । रामललितले नेपाली सेनामा जागिर खान फराम भरेका थिए । जागिर खाइसकेपछि मात्रै विवाह गर्ने अडान उनले लिएपछि दुई जनाबीच विवाद भएको पाइएको डीएसपी सिंहले बताए ।
उनका अनुसार विवादपछि रामललितले साथीहरु ज्ञानेन्द्र र रमेशमार्फत रेखालाई भेट्न बोलाएका थिए । बोलाएको ठाउँमा रेखा आइपुगेपछि ब्लेडले घाँटी रेटेर हत्या गरेको पाएको प्रहरीले जनाएको छ ।
‘हत्याका मुख्य योजनाकार रामललित हुन् । साथीहरुले रेखालाई बोलाउन मात्रै सहयोग गरेको देखिन्छ । हत्यामा उनीहरु संलग्न भएको पाइएन । रामललित एक्लैले हत्या गरेको स्वीकार गरिसकेका छन् । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ,’ डीएसपी सिंहले भने ।

























